मनसुनका कारण आएको वर्षा, बाढी र पहिरोका कारण देशमा जनधनको क्षति हुने क्रम जारी छ । गृह मन्त्रालयका अनुसार १९ जिल्ला धेरै प्रभावित भएका छन् ।
मनसुन सक्रिय भएपछिको २९ दिनमा ती जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । ३२ जना अझै बेपत्ता छन्। बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम जारी रहेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा मानवीय क्षति भएको छ।विपद्बाट मानवीय क्षति भएका अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला पनि रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी सिन्धुपाल्चोकमा पहिरोमा परेर २० जना हराइरहेका छन्। प्रदेश नम्बर दुईका आठ जिल्ला डुबान र कटानको समस्याबाट प्रभावित छन् ।
असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए। बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन्। त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन्।
उनका अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालिलाग्दो क्षति पुर्याएको छ। त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो।
म्याग्दीमा २७ को मृत्यु
म्याग्दीका प्रहरीका अनुसार जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ। अझै चारजना बेपत्ता छन्।
पहिरोमा परेका तीनजना सम्पर्कमा आउन सफल भएका छन् । अहिलेसम्म प्रभावित ८९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ। राहत सामग्री, त्रिपाल, खाद्यान्न, लत्ताकपडा, कम्बल आवश्यक मात्रामा हेलिकप्टरबाट पुर्याइएको छ ।
सिन्धुपाल्चोकमा अझै २० बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको र अझै २० जना बेपत्ता छन् ।
प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिरोले क्षति पुर्याएको छ। यहाँको प्रभावित क्षेत्रमा ६५ घर परिवारलाई पुग्ने राहत सामग्री तथा लत्ताकपडा जिल्लाबाट पठाइएको र खाद्यान्न भने स्थानीय पालिकाले व्यवस्थापन गरेको उनको भनाइ छ। अहिले पनि सबै सुरक्षाकर्मीले त्यहाँ उद्धार जारी राखेका छन्। काठमाडौँबाट समेत उद्धार टोली पुगेर जम्बुबजारमा हराइरहेकाको खोजी जारी छ।
कास्कीमा सातको मृत्यु
कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिरोले जनधनको क्षति पुर्याएको थियो। कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रहरीले जानकारी गराएको छ । सराङ्कोटमा पाँच, हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको छ ।
जाजरकोटमा नौ को मृत्यु
जाजरकोटबाट प्राप्त विवरणअनुसार नौ जनाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । छ अझै जना बेपत्ता नै छन्। उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनस्र्थापनको काम जारी रहेको प्रहरीले जानकारी गराएको छ ।
गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार विपद्मा परेर गुल्मीमा पाँचको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। यस्तै लम्जुङ्मा चारको मृत्यु भएको छ। रुकुम पश्चिम र दार्चुलामा दुई÷दुई जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परेर गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी, सल्यान, कालीकोट, सुर्खेत, झापा र चितवनमा एकरएक जनाको मृत्यु भएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाले जनाएको छ।



















































































































































































































