
कोरोना संक्रमण तीव्र भएसँगै बागलुङ उद्योग वाणिज्य संघले जनचेतनामूलक कार्यक्रम गर्दै स्थानीयलाई निःशुल्क मास्क वितरण गर्न थालेको छ । संघले सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रबार बागलुङ सदरमुकाममा एक कार्यक्रम गरी बजारमा कामको सिलसिलामा आएका स्थानीयलाई अनिवार्य मास्क लगाएर हिँड्न सजगसमेत गराएको छ ।
सरकारले लकडाउन खुकुलो पारेसँगै मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने जनाएको छ । तर, बागलुङ सदरमुकामको दृश्य हेर्दा कोभिड–१९ नियन्त्रणका लागी सरकारद्वारा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने कुरालाई धेरैले गम्भीरतापूर्वक लिएको देखिँदैन ।
‘त्यही भएर सबै व्यवसायी, आमनागरिकलाई अनिवार्य रूपमा मास्क लगाएर हिँड्न अनुरोध गर्दै मास्क वितरणसमेत गरेका हौं,’ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने ।
संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीका अनुसार संघको टोलीले जनचेतनामूलक सन्देश बजाउँदै बागलुङ बजारमा कामको सिलसिलामा आएका व्यक्ति र सवारीचालकहरूलाई मास्क वितरण गरेको थियोे ।बागलुङ बजारमा प्रायः कसैले मास्क नलगाएको र सामाजिक दूरीसमेत कायम नगरिएपछि संक्रमणको जोखिम झन् बढेको छ ।
गृह मन्त्रालयले मास्क नलगाई हिँड्ने व्यक्तिलाई संक्रमण ऐन २०२० अनुसार कारबाही गर्न जिल्ला प्रशासनलाई परिपत्र गरेको छ । यस्तोमा बागलुङका सञ्चारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाजले कोरोना रोकथाम र नियन्त्रण गर्न सबैको भूमिका अनिवार्य हुने भन्दै केही दिन जनचेतना जगाएर मात्र कारबाही थाल्नुपर्नेमा जोड दिएका छन् ।
त्यही क्रममा जनचेतना र मास्क वितरणलाई अभियानका रूपमा अघि बढाइएको बागलुङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले नयाँ विश्वलाई बताए ।