६ जेष्ठ २०८१, आईतवार

 

काठमाडौं उपत्यकामा निषेधाज्ञा : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार निषेधाज्ञाको समयमा छुट पाइने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ । प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै बीउबीजन, मासुजन्य पदार्थ, दाना र भेटरिनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।

एम्बुलेन्स,शववाहन,दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत् सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारीसाधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् । विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान राखिएको छ ।

यसबाहेक कोभिड–१९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरूका सवारीसाधनलाई फोटोसहितको परिचयपत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्