२२ भाद्र २०८३, सोमबार

 

बाढीपहिरोपीडितलाई जनकल्याणकारी संस्था जापान र कांग्रेस नेताको सहयोग

जनकल्याणकारी संस्था जापानको सहयोग र नेपाली कांग्रेस बागलुङका पूर्वसभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, कांग्रेस बागलुङका पूर्वउपसभापति तथा महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय, जीपी कोइराला फाउन्डेसनका संयोजक महेन्द्रप्रसाद कँडेल र नेपाल शिक्षक संघ बागलुङको अध्यक्ष उमाकान्त पौडेलको पहलमा जिल्लाका बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गरिएको छ । ढोरपाटन, तमानखोला र निसीखोलाका बाढीपहिरोबाट प्रभावितलाई ३ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका ४४ परिवारलाई आर्थिक सहयोग गरिएको कांग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्यायले नयाँ विश्वलाई बताए ।

जनकल्याणकारी संस्था जापानका अध्यक्ष अर्जुन कँडेल, सह–कोषाध्यक्ष पिन्सेस खरेलको पहलमा १ लाख ३८ हजार २ सय ६० रुपैयाँ संस्थाको कार्यसमिति, सदस्यहरु र समाजसेवीहरुबाट आर्थिक सहयोग संकलन भएको र ५६ हजार १ सय संस्थाको दैवी प्रकोप कोषबाट उपलब्ध गराइएको हो ।

बाँकी रकम कांग्रेस नेता प्रकाश शर्मा पौडेल,जगदीशचन्द्र उपाध्याय, महेन्द्रप्रसाद कँडेल र उमाकान्त पौडेलको पहलमा १ लाख ५ हजार ७ सय रुपैयाँ संकलन भएको थियो ।

भदौ १७ गते ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्र र केही समयपहिले तमानखोला र निसीखोलामा आएको पहिरोका पीडितलाई राहत हस्तान्तरण गरिएको जीपी कोइराला फाउन्डेसन बागलुङका संयोजक महेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस बागलुङका पूर्वसभापति एवं संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, कांग्रेस बागलुङका पूर्वउपसभापति जगदीशचन्द्र उपाध्याय, जीपी कोइराला फाउन्डेसनका संयोजक महेन्द्रप्रसाद कँडेल र नेपाल शिक्षक संघ बागलुङको अध्यक्ष उमाकान्त पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

उनीहरूले स्थानीय जनप्रतिनिधिकै रोहबरमा राहत वितरण गरेका हुन् । नेता उपाध्यायले केही दिनमा काठेखोला र जैमिनीका पहिरोपीडितका लागि पनि राहत उपलब्ध गराइने बताए ।

जनकल्याणकारी संस्था जापान सन् २०१२ देखि सामाजिक, जनस्वास्थ्य,शैक्षिक र मानवीय सेवामा सक्रिय छ ।बागलुङमा भविष्यमा पनि विभिन्न जनसरोकारको क्षेत्रमा संस्थाको तर्फबाट सहयोग गर्ने कार्याक्रम रहेको जनकल्याणकारी संस्था जापानका अध्यक्ष अर्जुन कँडेलले जानकारी दिए ।

उक्त संस्थाले नवलपरासी, चितवन,नवलपुर,गुल्मी, स्याङ्जा, रुपन्देही, पाल्पा, कास्की, पर्वत र बागलुङलाई कार्यक्षेत्र बनाएको छ । भुजीखोलाको बाढीपहिरोमा मृत्यु हुनेको संख्या अहिलेसम्म २१ पुगेको छ ।

१७ जना अझै बेपत्ता छन् । त्यहाँ ८० घर बगेका छन् । बाढीले भुजीखोलाका ११ वटा विद्युत्–गृह र नहर बगाउँदा ढोरपाटनका तीनवटा वडा अन्धकार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung