१६ कार्तिक २०८३, आईतवार

 

विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री

फाइल तस्बिर

रोट्र्याक्ट क्लब अफ बागलुङले बागलुङ नगरपालिका–१३ स्थित बालप्रभा प्राविमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विद्यालयलाई कम्प्युटर, प्रोजेक्टरलगायत सामग्री पनि उपलब्ध गराएको छ ।

५५ जना विद्यार्थीका लागि स्वेटर, टोपी, कापी, पेन्सिललगायत सामग्री र विद्यालयलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, सीसी क्यामेरासहित २ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

यी सामग्री जुटाउन बलेवा सेवा समाज जापान, बागलुङबाट अध्ययन एवं रोजगारीका लागि विदेश गएका क्लबका पूर्वअध्यक्षहरू, स्वर्गीय दिव्यधर आचार्यको परिवार, सापकोटा स्टेसनरी, गुराँस लाइफ इन्स्योरेन्सलगायतले सहयोग गरेको रोट्र्याक्ट क्लब अफ बागलुङका कार्यक्रम संयोजक शिव केसीले बताए ।

जाडोको समयमा यसै पनि घाम कम लाग्ने विद्यालयका विपन्न विद्यार्थीको पीडा कम गर्न क्लबको सहयोगले ठूलो राहत पुगेको प्रधानाध्यापक महेन्द्र अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung