प्रतिनिधिसभा विघटनविरुद्धमा भइरहेका बहस लामा भइरहेका छन् । प्रतिनिधिसभा विघटनका मुद्दाको नियमित सुरु हुन लागेको दोस्रो दिन बिहान साढे ११ बजेदेखि ३ बजेसम्म अधिवक्ता दिनमणि पोखरेलले मात्रै बहस गरेका छन् । कानुन व्यवसायीहरूले बहस लामो गरेपछि इजलासले समयको ध्यान दिन सुझाएका छन् ।
बिहानदेखि बहसमा सहभागी भएका पोखरेलले ३ बज्न लाग्दा पनि सक्ने लक्षण नदेखाएपछि इजलासले छोटो पार्न सुझाव दिएका हुन् । इजलासबाट अनिलकुमार सिन्हाले भने, ‘कति समय लिनुहुन्छ तपाईं ? अरुलाई पनि समय दिनुपर्ला ।’
मुद्दामा सहभागी हुने कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई न्यायाधीश सिन्हाले सुझाव दिए ।
‘३६३ वटा वकालतनामाहरू परेका छन् । यो सुनुवाइ गर्दागर्दै चुनावको तयारी सम्पन्न भई, झारखण्डको चुनाव जस्तो, यो संसद विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला,’ उनले भने, यहाँहरूले समयलाई म्यानेज गर्नुस् ।’
न्यायाधीश सपना प्रधान मल्लले बहस अन्त्य गर्न सुझाइन् । जवाफमा पोखरेलले भने मैले सुरू गरेपछि इन्डिङ पनि गर्नुपर्छ । अलिकति १०–१५ मिनेट भएपछि मैले समराइज गर्छु । तर लामो गर्दिनँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा १३ मुद्दा परेका थिए । त्यसपछि झन्डै १ महिना विपक्षीबाट जवाफ माग्ने र कुन इजलासमा मुद्दा लैजाने भनेर सकिएको छ ।
आइतबार निवेदकका तर्फबाट सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिलकुमार पोखरेलले मात्रै सहगभागिता जनाएका थिए ।













































































































































































































