५ जेष्ठ २०८१, शनिबार

 

पर्वतको ऐतिहासिक मल्लाज दरबारमा रिसोर्ट

पर्वतको जलजला गाउँपालिका–३ माझफाँटस्थित मल्लाज दरबारमा रिसोर्ट सञ्चालनमा आएको छ । ऐतिहासिक महत्त्व बोकेको दरबारमा बास बस्न अहिले दैनिकजसो अन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् ।

४० वर्षयता बन्द अवस्थामा रहेको दरबारलाई व्यवस्थित बनाई रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।सय वर्ष पुरानो दरबार पुनर्निर्माण गरी स्थानीय मुकुन्द मल्लले ‘मल्लाज हेरिटेज रिसोर्ट’ स्थापना गरेका छन् । जिजुबा कर्णेल तेजबहादुर मल्लले निर्माण गरेको दरबार पनाति मुकुन्दले पुनर्निर्माण गराएका हुन् ।

जीर्ण बनेको ऐतिहासिक दरबारलाई प्रवर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले अत्याधुनिक सेवासुविधा सहित रिसोर्ट सञ्चालनमा ल्याएको उनले बताए । ‘हामीले सहरको कोलाहलबाट अलि टाढा पुग्न चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेका छौं,’ उनले भने ।२२ रोपनी क्षेत्रफलमा फैलिएको तीनतले दरबारको स्तरोन्नतिसँगै आठवटा टेन्ट बनाइएको छ ।

उक्त रिसोर्ट पोखरा–मुस्ताङ सडकअन्तर्गत बेनी बजारबाट करिब एक घण्टाको पैदल दूरीमा पर्छ । यहाँ बाइसे–चौबिसे राज्यका पालामा निर्मित हातहतियार, दरबारका पुराना तस्बिरसँगै ऐतिहासिक सम्पदासमेत अवलोकन गर्न पाइनेछ ।एक दशकसम्म ‘डीएचएल’ नामक अन्तर्राष्ट्रिय संस्थाको नेपाल प्रमुखको जिम्मेवारीसँगै सोल्टी प्लाजामा तीन वर्ष बजार प्रबन्धकका रूपमा काम गरिसकेका मल्लले पारिवारिक यात्रालाई सहज बनाउने गरी रिसोर्ट सञ्चालनमा ल्याएको बताए ।

तीनतले दरबारभित्रका १२ कोठामध्ये सातवटामा २४ जनासम्म बस्न मिल्ने व्यवस्था मिलाइएको छ । पुनर्निर्माण गर्दा दरबारको पुरानो स्वरूपलाई यथावत् राखिएको छ ।

‘रिसोर्टमा पर्यटक आउँदा स्थानीयको व्यापारसमेत बढेको छ,’ मल्लले भने ।
तत्कालीन कर्णेल तेजबहादुर मल्लले अवकाशपछि आफ्नै गाउँमा विसं १९७२ मा भक्तपुरका ज्यामी ल्याएर दरबार बनाएको स्थानीय बूढापाका बताउँछन् ।

उनीहरूका अनुसार दरबारमा परम्परागत नाचगानका सामग्री, विभिन्न ऐतिहासिक नेपाली, हिन्दी, अंग्रेजी, नेपालभाषाका पुस्तकहरू, घरेलु बन्दुक, गाउँभरिका स्थानीयलाई खाना पकाउन मिल्ने तामाका ताउलालगायत सामग्री पनि थिए । तर ती द्वन्द्वकालमा हराएकाले तिनको खोजी गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्