सरकारले गाउँगाउँका जनतालाई स्वास्थ्यसेवा पुर्याउने नीति बनाएको छ । तर स्वास्थ्य संस्थामा पहुँच नहुँदा अझै पनि ग्रामीण क्षेत्रका जनता धामीझाँक्री कहाँ धाउन बाध्य छन् ।
बागलुङको पश्चिम क्षेत्रको निसी, बोबाङ, अधिकारीचौर र ढोरपाटन क्षेत्रका स्थानीय बिरामी पर्दा झारफुक गराउँछन् । डाक्टरी उपचार उनीहरूको पहुँचमै छैन । कतिपयमा चेतनाको पनि अभाव छ । चेतना अभावमा ग्रामीणस्तरका जनताले झारफुकलाई बढी विश्वास गर्ने गरेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउँछन् ।
‘भौगोलिक रूपमा पिछडिएको ठाउँ भएकाले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन समस्या रहेकाले नागरिकको स्वास्थ्यप्रति संवेदनशील छौं,’ उनले भने ।

भौगोलिक कठिनाइका कारण स्वास्थ्य चौकी पुग्न घन्टौं हिँड्नुपर्ने बाध्यताका कारण धामीझाँक्रीको भर पर्नुपरेको ढोरपाटन नगरपालिका–९ काँगकी डल्ली विकले बताइन् । ‘गरिबीका कारण उपचार गर्न जाने पैसा हुँदैन,’ उनले भनिन्, ‘धामीले भन्दा डाक्टरले गरेको उपचार लाग्छ तर पैसा छैन । त्यसैले धामी खोजेर उपचार गर्छौं ।’
आफ्ना पुर्खाले वर्षौंदेखि अँगालेको पेसालाई निरन्तरता दिएको ढोरपाटन नगरपालिका–९ का झाँक्री मोतीलाल विकले बताए । मानसिक रोगका बिरामीसमेत धामीझाँक्री कहाँ लगिने गरेका छन् ।
बागलुङमा तत्कालीन माओवादी द्वन्द्व, भूकम्प, अहिले कोरोनाका कारण मानसिक रोगी बढ्दै गइरहेको धौलागिरि अस्पतालले जनाएको छ । शहरी क्षेत्रका मानसिक रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरे पनि गाउँगाउँका बिरामी भने धामीझाँक्रीकै सहारामा पुग्ने गरेको धौलागिरि अस्पतालका डाक्टर धीरेन्द्र पौडेलले बताए ।













































































































































































































