२२ बैशाख २०८१, शनिबार

 

उपत्यकासहित यी स्थानमा वर्षा

काठमाडौं उपत्यकासहित अहिले देशका अधिकांश भू–भागमा मौसम बदली रहेको छ । अहिले काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भइरहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण–पूर्व भू–भागनजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज केही घण्टाका लागि मौसम खुल्ने र घाम लाग्ने बताइएको छ । ‘अबको करिब दुई घण्टापछि मौसम खुल्नेछ । घाम पनि लाग्नेछ । अपराह्नतिर फेरि बदली हुनेछ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने ।

अहिले प्रिमनसुनको समय रहेको र प्रिमनसुनको प्रभाव अझै केही दिन रहने उनले बताए । त्यसको प्रभावले अबको तीन दिन देशभरको मौसम बदली हुने उनले जानकारी दिए ।

आज देशका धेरै स्थानमा वर्षा भएको छ । अहिले वाग्मतीसहित गण्डकी प्रदेशमा वर्षा भइरहेको छ । अबको केही समयपछि यी दुई प्रदेशमा मौसम केही खुल्नेछ ।

अहिले प्रदेश नम्बर–२ मा वर्षा हुन सुरु भएको छ भने प्रदेश नम्बर–१ मा आज दिनभर नै मौसम बदली हुने मौसमविद् श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्