( चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चाइना डेलीले ‘एक सय दिनमा एक सय चिनियाँ कम्युनिस्ट पार्टीका कथा’ को श्रृङ्खला चलाइरहेको ।सो श्रृङ्खलाअन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भोगेका र सहभागी भएका विदेशीहरूको जीवन परिचय समावेश छ । उनीहरूको जीवनकथाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्न मद्दत पुग्ने आशा गरिएको छ । सोही शृङ्खलाअन्तर्गतको आलेख प्रस्तुत छ । )भाग दुई
येनानको संस्मरण
त्यहाँ पुग्दा इप्स्टिनलाई अर्कै संसारमा गएको जस्तो अनुभव भएको थियो । “चीनका अन्य ठाउँमा मानिसहरू सेना आउने बित्तिकै भागाभाग गर्थे ।
तर, त्यहाँ त किसानहरूले सिपाहीहरूलाई पिलाउन तातोपानी ल्याइदिन्थे । सिपाहीहरूले केही नभन्दा पनि जनता सिपाहीका घोडाको स्याहारमा लाग्थे ।
…जनताले सिपाहीलाई कुनै लामो यात्राबाट फर्केको आफ्नो आफन्तजस्तै व्यवहार गरिरहेका थिए ।”येनानमा सबै कुरा निकै भिन्न थियो । आफ्नी श्रीमतीलाई लेखेको चिट्ठीमा उनले सो क्षेत्रलाई ‘सानोतिनो महान् देश’ को उपमा दिएका थिए ।
“त्यहाँ मानिसहरू पक्का पनि ज्यादै सक्रिय थिए । उनीहरू आफूहरू नै चीन र चीनको भविष्य भएकोमा ढुक्क थिए । उनीहरूले मुखले त्यसो भनेनन् । तर, उनीहरूका काम, आत्मविश्वास र मुस्कानले त्यही बताइरहेको थियो ।
मलाई पूर्ण विश्वास भइसकेको थियो– अर्को दशकसम्ममा येनान विस्तार भएर सिङ्गो चीन येनान बन्नेछ ।”इप्स्टिन तीन महिना येनान बसे । सो क्रममा उनले माओ त्सेतुङ, चु तेह, चाओ एन लाइ र अन्य नेताहरूसँग अन्तर्वार्ता लिए ।
‘जटिल रणनीतिक सोचलाई पनि सरल भाषामा बुझाउन जान्ने र निरक्षर व्यक्तिलाई समेत त्यसको अर्थ भित्रसम्म बुझाउन सक्ने’ माओ त्सेतुङको क्षमताबाट उनी ज्यादै प्रभावित थिए ।
“माओ येनानको गुफामा बस्नुहुन्थ्यो । तर, उहाँलाई संसारको अवस्थाबारे गहिरो जानकारी थियो । माओलाई भेटेका जो कोहीले पनि उहाँ शताब्दीकै एक महान व्यक्ति भएको आफ्नो प्रभाव सुनाउँथे ।
उहाँसँग राजनीतिकरूपमा मत नमिल्नेहरूले पनि यस्तै भन्थे । माओको व्यक्तित्व, गम्भीरता र हाँसो ठट्टा, धैर्यता र निर्णायात्मक, चिन्तन र कार्य, आत्मविश्वास र नम्रताको सङ्गम थियो”, इप्स्टिनले भनेका छन् ।
इप्स्टिनको अनुभवमा चाओ एन लाइ निकै मिलनसार थिए । उहाँलाई युद्धमा जन्मेको नेता भन्नै नसुहाउने थियो । चाओ सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो अनि आफ्नोबारेमा त्यत्ति ध्यान दिनुहुन्नथ्यो ।
उहाँ जतिसुकै व्यस्त भए पनि आफ्ना सहकर्मी र सहयोगीहरूको काम, अध्ययन र दिनचर्याबारे सोध्ने समय निकाल्नुहुन्थ्यो ।
येनान बसाइको क्रममा इप्स्टिनले येनान र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको विषयमा लेखेका समाचार र लेखहरूले संसारलाई चीनमा हुर्किरहेको नयाँ समाजबारे बुझाउन सफल भए ।
‘द न्यु योर्क टाइम्स’ लाई लेखेका एउटा समाचारमा उनले आठौँ मार्ग सेनाले जनतासँग नजिकको सम्बन्ध कायम गरेको र जनताबाट एक पैसा पनि लिने नगरेको लेखेका छन् ।
धेरै वर्षपछि येनानको आफ्नो त्यो भ्रमण आफ्नो बाँकी जीवन क्रान्तिकारी बाटोमा अघि बढ्न प्रोत्साहित गर्न निकै महत्वपूर्ण भएको स्मरण गरे । “मैले त्यहाँ नितान्त फरक चीन देखेँ ।
त्यो चीन च्याङ काई शेकले शासन गरेको चीनभन्दा पूर्णतः भिन्न खालको चीन थियो । त्यो चीन पूर्णतः आशाले भरिपूर्ण थियो । त्यहाँ भोक थिएन ।
त्यहाँ पराजित मनस्थिति थिएन ।” उनी प्रतिक्रियावादी शासनको अन्त्य हुने र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ चीनको उदय हुनेमा विश्वस्त भए ।
![]()
( हार्बिनमा आमासँग इप्स्टिन )
येनानको त्यही भ्रमणबाट सुरु भयो–पहेँलो नदीको लोकगीतसँग इप्स्टिनको सम्बन्ध । यिनै गीतमा निहीत चिनियाँ जनताको भावनाबाट प्रेरित भएर उनले पहिलोपटक तिनको शब्द अङ्ग्रेजीमा अनुवाद गर्न थालेका थिए । पहेंलो नदी क्षेत्रका ती लोकगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्न उनले महत्वपूर्ण भूमिका खेले ।
सन् १९४५ मा इप्स्टिन संरा अमेरिका फर्के । जनवादी गणतन्त्र चीनको स्थापनापछि उनी र केही अन्य प्रगतिशील व्यक्तिहरू मिलेर नयाँ चीनको राष्ट्रिय झन्डासहितको पहिलो अमेरिकी प्रकाशन संस्था ‘द लाइट इन द ब्रोड इस्ट’ स्थापना गरे ।
सन् १९५१ मा उनी चीन फर्के । त्यसको ६ वर्षपछि उनले चीनको नागरिकता प्राप्त गरे । सन् १९६४ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बने ।
इप्स्टिनले सन् १९५५, १९६५ र १९७६ गरी तीनपटक तिब्बतको भ्रमण गरे । उनले तिब्बतका झन्डै एक हजार मानिसको अन्तर्वार्ता गरे र दस लाख शब्द टिपोट बनाए । तिनै टिपोटको आधारमा उनले तिब्बतको रूपान्तरणबारे एउटा पुस्तक लेखे ।

तिब्बतमा भइरहेको चामत्कारिक परिवर्तनबारे त्यो पुस्तक विश्वसनीय अभिलेख थियो । इतिहासको स्थापित दिशाभन्दा भिन्न बाटो लिइरहेको थियो, तिब्बतले ।
पुस्तकमार्फत तिब्बतबारे नयाँ चीनको नीतिबारे धेरै मानिसले जानकारी पाए । साथै मुक्तिपछि तिब्बतले अङ्गालेको विकासको बाटोबारे पनि मानिसलाई जानकारी भयो ।
इप्स्टिनले निकै स्नेहपूर्ण भन्ने गरेका छन्–चिनियाँ जनताको क्रान्तिकारी लक्ष्यमा सामेल र सहभागी हुँदाको आफ्नो अनुभवभन्दा उत्तर र अर्थपूर्ण कुरा अरू केही छैन ।
संसारकै पाँच भागको एक भाग जनसङ्ख्या भएको चीनले सिङ्गो संसारको भविष्यको लागि ठुलो जिम्मेवारी वहन गरेको छ ।
हरेक क्रान्तिमा जस्तै चीनको क्रान्तिकारी सङ्घर्षमा पनि खुसी छ, दुःख छ, पीडा छ, आरोह छ, अवरोह छ । तर, समग्रमा क्रान्ति उँभो लाग्दो छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रगतिमा ठुलो योगदान गरेको छ ।
सन् २००५ को मे महिनामा गौरवपूर्ण र विलक्षण जीवनयात्रापछि इप्स्टिनको पेइचिङमा निधन भयो । अन्तिम समयमा आफ्नो वरपरका सबैलाई चीनको व्यापक प्रगतिको कारण उसको अन्तर्राष्ट्रिय प्रभाव स्वाभाविक भएको बताएका थिए ।
तर, चीनको प्रगति भर्खर सुरु भएको उनको भनाइ थियो । सधैँजसो बाटोमा अनेकन अवरोधहरू छन् । तर, चीन ती अवरोध छिचोलेर अघि बढिरहनेछ ।
समाप्त
( स्रोतः चाइना डेली,नेपाली अनुवादः सुमन,अनलाइन मजदुरबाट )













































































































































































































