३ श्रावण २०८३, आईतवार

 

पत्रकार इप्स्टिन जसले चिनाए संसारलाई चीनको येनान

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चाइना डेलीले ‘एक सय दिनमा एक सय चिनियाँ कम्युनिस्ट पार्टीका कथा’ को श्रृङ्खला चलाइरहेको ।सो श्रृङ्खलाअन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भोगेका र सहभागी भएका विदेशीहरूको जीवन परिचय समावेश छ । उनीहरूको जीवनकथाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्न मद्दत पुग्ने आशा गरिएको छ । सोही शृङ्खलाअन्तर्गतको आलेख प्रस्तुत छ । )भाग दुई

येनानको संस्मरण

त्यहाँ पुग्दा इप्स्टिनलाई अर्कै संसारमा गएको जस्तो अनुभव भएको थियो । “चीनका अन्य ठाउँमा मानिसहरू सेना आउने बित्तिकै भागाभाग गर्थे ।

तर, त्यहाँ त किसानहरूले सिपाहीहरूलाई पिलाउन तातोपानी ल्याइदिन्थे । सिपाहीहरूले केही नभन्दा पनि जनता सिपाहीका घोडाको स्याहारमा लाग्थे ।

…जनताले सिपाहीलाई कुनै लामो यात्राबाट फर्केको आफ्नो आफन्तजस्तै व्यवहार गरिरहेका थिए ।”येनानमा सबै कुरा निकै भिन्न थियो । आफ्नी श्रीमतीलाई लेखेको चिट्ठीमा उनले सो क्षेत्रलाई ‘सानोतिनो महान् देश’ को उपमा दिएका थिए ।

“त्यहाँ मानिसहरू पक्का पनि ज्यादै सक्रिय थिए । उनीहरू आफूहरू नै चीन र चीनको भविष्य भएकोमा ढुक्क थिए । उनीहरूले मुखले त्यसो भनेनन् । तर, उनीहरूका काम, आत्मविश्वास र मुस्कानले त्यही बताइरहेको थियो ।

मलाई पूर्ण विश्वास भइसकेको थियो– अर्को दशकसम्ममा येनान विस्तार भएर सिङ्गो चीन येनान बन्नेछ ।”इप्स्टिन तीन महिना येनान बसे । सो क्रममा उनले माओ त्सेतुङ, चु तेह, चाओ एन लाइ र अन्य नेताहरूसँग अन्तर्वार्ता लिए ।

‘जटिल रणनीतिक सोचलाई पनि सरल भाषामा बुझाउन जान्ने र निरक्षर व्यक्तिलाई समेत त्यसको अर्थ भित्रसम्म बुझाउन सक्ने’ माओ त्सेतुङको क्षमताबाट उनी ज्यादै प्रभावित थिए ।

“माओ येनानको गुफामा बस्नुहुन्थ्यो । तर, उहाँलाई संसारको अवस्थाबारे गहिरो जानकारी थियो । माओलाई भेटेका जो कोहीले पनि उहाँ शताब्दीकै एक महान व्यक्ति भएको आफ्नो प्रभाव सुनाउँथे ।

उहाँसँग राजनीतिकरूपमा मत नमिल्नेहरूले पनि यस्तै भन्थे । माओको व्यक्तित्व, गम्भीरता र हाँसो ठट्टा, धैर्यता र निर्णायात्मक, चिन्तन र कार्य, आत्मविश्वास र नम्रताको सङ्गम थियो”, इप्स्टिनले भनेका छन् ।

इप्स्टिनको अनुभवमा चाओ एन लाइ निकै मिलनसार थिए । उहाँलाई युद्धमा जन्मेको नेता भन्नै नसुहाउने थियो । चाओ सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो अनि आफ्नोबारेमा त्यत्ति ध्यान दिनुहुन्नथ्यो ।

उहाँ जतिसुकै व्यस्त भए पनि आफ्ना सहकर्मी र सहयोगीहरूको काम, अध्ययन र दिनचर्याबारे सोध्ने समय निकाल्नुहुन्थ्यो ।
येनान बसाइको क्रममा इप्स्टिनले येनान र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको विषयमा लेखेका समाचार र लेखहरूले संसारलाई चीनमा हुर्किरहेको नयाँ समाजबारे बुझाउन सफल भए ।

‘द न्यु योर्क टाइम्स’ लाई लेखेका एउटा समाचारमा उनले आठौँ मार्ग सेनाले जनतासँग नजिकको सम्बन्ध कायम गरेको र जनताबाट एक पैसा पनि लिने नगरेको लेखेका छन् ।

धेरै वर्षपछि येनानको आफ्नो त्यो भ्रमण आफ्नो बाँकी जीवन क्रान्तिकारी बाटोमा अघि बढ्न प्रोत्साहित गर्न निकै महत्वपूर्ण भएको स्मरण गरे । “मैले त्यहाँ नितान्त फरक चीन देखेँ ।

त्यो चीन च्याङ काई शेकले शासन गरेको चीनभन्दा पूर्णतः भिन्न खालको चीन थियो । त्यो चीन पूर्णतः आशाले भरिपूर्ण थियो । त्यहाँ भोक थिएन ।

त्यहाँ पराजित मनस्थिति थिएन ।” उनी प्रतिक्रियावादी शासनको अन्त्य हुने र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ चीनको उदय हुनेमा विश्वस्त भए ।

( हार्बिनमा आमासँग इप्स्टिन )

येनानको त्यही भ्रमणबाट सुरु भयो–पहेँलो नदीको लोकगीतसँग इप्स्टिनको सम्बन्ध । यिनै गीतमा निहीत चिनियाँ जनताको भावनाबाट प्रेरित भएर उनले पहिलोपटक तिनको शब्द अङ्ग्रेजीमा अनुवाद गर्न थालेका थिए । पहेंलो नदी क्षेत्रका ती लोकगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्न उनले महत्वपूर्ण भूमिका खेले ।

सन् १९४५ मा इप्स्टिन संरा अमेरिका फर्के । जनवादी गणतन्त्र चीनको स्थापनापछि उनी र केही अन्य प्रगतिशील व्यक्तिहरू मिलेर नयाँ चीनको राष्ट्रिय झन्डासहितको पहिलो अमेरिकी प्रकाशन संस्था ‘द लाइट इन द ब्रोड इस्ट’ स्थापना गरे ।

सन् १९५१ मा उनी चीन फर्के । त्यसको ६ वर्षपछि उनले चीनको नागरिकता प्राप्त गरे । सन् १९६४ मा उनी चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य बने ।

इप्स्टिनले सन् १९५५, १९६५ र १९७६ गरी तीनपटक तिब्बतको भ्रमण गरे । उनले तिब्बतका झन्डै एक हजार मानिसको अन्तर्वार्ता गरे र दस लाख शब्द टिपोट बनाए । तिनै टिपोटको आधारमा उनले तिब्बतको रूपान्तरणबारे एउटा पुस्तक लेखे ।

तिब्बतमा भइरहेको चामत्कारिक परिवर्तनबारे त्यो पुस्तक विश्वसनीय अभिलेख थियो । इतिहासको स्थापित दिशाभन्दा भिन्न बाटो लिइरहेको थियो, तिब्बतले ।

पुस्तकमार्फत तिब्बतबारे नयाँ चीनको नीतिबारे धेरै मानिसले जानकारी पाए । साथै मुक्तिपछि तिब्बतले अङ्गालेको विकासको बाटोबारे पनि मानिसलाई जानकारी भयो ।

इप्स्टिनले निकै स्नेहपूर्ण भन्ने गरेका छन्–चिनियाँ जनताको क्रान्तिकारी लक्ष्यमा सामेल र सहभागी हुँदाको आफ्नो अनुभवभन्दा उत्तर र अर्थपूर्ण कुरा अरू केही छैन ।

संसारकै पाँच भागको एक भाग जनसङ्ख्या भएको चीनले सिङ्गो संसारको भविष्यको लागि ठुलो जिम्मेवारी वहन गरेको छ ।

हरेक क्रान्तिमा जस्तै चीनको क्रान्तिकारी सङ्घर्षमा पनि खुसी छ, दुःख छ, पीडा छ, आरोह छ, अवरोह छ । तर, समग्रमा क्रान्ति उँभो लाग्दो छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रगतिमा ठुलो योगदान गरेको छ ।

सन् २००५ को मे महिनामा गौरवपूर्ण र विलक्षण जीवनयात्रापछि इप्स्टिनको पेइचिङमा निधन भयो । अन्तिम समयमा आफ्नो वरपरका सबैलाई चीनको व्यापक प्रगतिको कारण उसको अन्तर्राष्ट्रिय प्रभाव स्वाभाविक भएको बताएका थिए ।

तर, चीनको प्रगति भर्खर सुरु भएको उनको भनाइ थियो । सधैँजसो बाटोमा अनेकन अवरोधहरू छन् । तर, चीन ती अवरोध छिचोलेर अघि बढिरहनेछ ।

समाप्त

( स्रोतः चाइना डेली,नेपाली अनुवादः सुमन,अनलाइन मजदुरबाट )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung