३ जेष्ठ २०८१, बिहीबार

 

दुर्घटना रोक्न सवारीसाधनमा टाँसिएका स्टिकर हटाउँदै ट्राफिक प्रहरी

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारीसाधनमा टाँसिएका स्टिकर हटाउन थालेको छ । सवारीसाधनको अगाडि सिसामा स्टिकर, मालालगायतका झल्लरी राख्दा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको ठहर छ ।

जिल्लामा ठूला मालवाहक ट्रक, बस, ट्रिपर, ट्याक्टरमा चालकले बाटै नदेखिने गरी अगाडिको सिसामा स्टिकर टाँस्ने र झल्लरी राख्ने, चर्को आवाजमा गीत बजाउने गरेका छन् ।

लाइसेन्सविना सवारी चलाउने र नम्बरप्लेट स्पष्ट नदेखिने सवारीमा पनि कडाइ गरिएको ट्राफिक प्रहरी कार्यालय, बागलुङका प्रमुख बद्रीनाथ शर्माले बताए ।

उनका अनुसार सदरमुकाम बागलुङ बजारमा ठूला मालवाहक ट्रक, बस, ट्रिपर, ट्याक्टर, भ्यानजस्ता साधनले मनपरी पार्किङ गर्ने तथा रुटविना सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।

ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरण हुने भन्दै यसलाई निरन्तरता दिन स्थानीयले सुझाव दिएका छन् ।

कोरोनाको तेस्रो भेरियन्ट बढेकाले नियन्त्रणका लागि ‘संक्रमणबाट आफू बचौं र अरूलाई पनि बचाऔं’नारासहित अभियान सुरु गरिएको कार्यालयका प्रमुख शर्माले बताए ।ट्राफिक प्रहरी र सर्वसाधारण तथा चालकबीचको सम्बन्धलाई सौहार्दपूर्ण बनाउन ‘नमस्ते अभियान’ समेत चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्