२४ बैशाख २०८१, सोमबार

 

एनआरएनए जापानको चुनावी मैदानमा ६४ प्रतिस्पर्धी, अध्यक्षमा सात जना भिड्दै

एनआरएनए जापानको आगामी कार्यकाल सन् २०२१–२०२३० का लागि पाँच दर्जनभन्दा धेरै प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । समितिका विभिन्न पदमा ६४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले प्रकाशित गरेको प्रारम्भिक नामावलीअनुसार अध्यक्षमा मात्र सात जना भिड्दै छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुई जना, उपाध्यक्ष चार पद मा १२ जना, महिला उपाध्यक्षमा दुई जना, महासचिवमा दुई जना, सचिव दुई पदमा दुई जना, कोषाध्यक्षमा तीन जना र सहकोषाध्यक्ष दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसै गरी महिला संयोजकमा एक जना, युवा संयोजकमा दुई जना, सदस्य सात पदमा १८ जना, महिला सदस्यमा एक जना र अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य ६ पद मा नौ जनाले उम्मेदवारी दर्ता गराएको समितिको सूचनामा उल्लेख छ ।

राष्ट्रिय समन्वय परिषद् जापानको आगामी अध्यक्षमा हालकी कार्यवाहक अध्यक्ष अनिता गुरुङ, परिषद सदस्य ददिवाल खड्काका साथै नरेन्द्रकुमार बस्नेत दिनेश, किरण बर्मा, नारायण खड्का, शिवप्रसाद पौडेल र सरोजकुमार खत्रीले दाबी गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका युवा उपाध्यक्ष नवीन निउरे र फुकुओकाका छत्रबहादुर दाहाल चुनावी मैदानमा उत्रिएका छन् ।
सबैभन्दा बढी उम्मेदवारको रोजाइ उपाध्यक्ष पद छ जसमा १२ जना भिड्दै छन् ।

उपाध्यक्ष बन्न महेशकुमार कटवाल, राम थापा अनिल, विष्णुप्रसाद घिमिरे, राजकुमार अधिकारी, जनकविक्रम शाही, जीवनकुमार गुरुङ, रामकृष्ण श्रेष्ठ, बालकृष्ण कँडेल हिमाल, विकास बस्नेत, टीकाराम कँडेल, विष्णुप्रसाद सुवेदी र बुद्धिराज घिमिरे आकांक्षी देखिएका हुन् ।

महिला उपाध्यक्ष एक पदमा हालकी कोषाध्यक्ष कालिका थापा र महिला संयोजक संगीता अधिकारी सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अर्को मुख्य कार्यकारी पद महासचिवका लागि हालका कार्यसमिति सचिव टीकाराम खरेल र प्रवक्ता सिद्धार्थ श्रेष्ठले दाबी गरेका छन् ।

सचिव दुई पदमा भने श्यामकुमार श्रेष्ठ शीतल र देवराज उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका छन् । महिला सचिव पदमा एलिजा केसीको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध छानिएकी छन् ।

कोषाध्यक्ष पदमा भने कृष्णप्रसाद खनाल, कृष्ण गैरे शर्मा र सचिन श्रेष्ठ एकअर्कालाई उछिन्ने रणनीतिमा छन् ।

सहकोषाध्यक्षमा दीपक सुनार र बाबुराम खरेल उम्मेदवार छन् । महिला संयोजकमा अञ्जु भण्डारी र महिला सदस्यमा हेमा पाण्डे निर्विरोध भएका छन् । युवा संयोजकमा राकेश लामा र राजेश खनाल भिड्ने निश्चित देखिएको छ ।

सदस्य सातपदका लागि रामप्रसाद शर्मा धनपति, चन्द्रकुमारी केसी, राजु पनेरू, प्रकाश लामिछाने, राजु भण्डारी सुनील, सुरेश सापकोटा,
रामबहादुर खत्री, अर्जुन केसी, लक्ष्मी केसी महर्जन, फणीन्द्र पहाडी, रामु कँडेल, थमबहादुर क्षेत्री, कृष्णबहादुर थापा, दिलीप कँडेल, ताराबहादुर कार्की, विनय गुरुङ, मन्जु गिरी र भीमसेन राय, भीम रायमाझी र मोहनसिंह मडैबीच प्रतिस्पर्धा हुँदै छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य ६ पद का लागि श्रवणकुमार सत्याल, सुपेन्द्र घिसिङ, दीपक कार्की, लक्ष्मण बानियाँ, बलराम श्रेष्ठ, नरबहादुर थापा, रोबिनप्रसाद शेरचन, रामहरि पुडासैनी र विकास श्रेष्ठ गरी ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनए जापानको दसौं अधिवेशन ओसाकामा जुलाई २५ र निर्वाचन जुलाई २७ मा हुने कार्यतालिका छ । उम्मेदवारहरूको दाबी विरोध र उम्मेदवारी फिर्ता लिन जुलाई १९ सम्मको अवधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्