४ श्रावण २०८३, सोमबार

 

संखुवासभा हत्या प्रकरण : भतिजा पर्नेलाई प्रहरीले गर्‍याे पक्राउ, भोलि सार्वजनिक गर्ने तयारी

संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ प्रहरी एक अधिकारीले भने ।

घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए।

प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले हत्या आरोपमा एक युवालाई पक्राउ गरिएको बताए। उनले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए।

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा शव फेला परेको थियो।

उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।

पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung