८ जेष्ठ २०८१, मंगलवार

 

छोरी अनुजाको स्मृतिमा आश्रमलाई भोजन र भवन बनाउन भारी परिवारको सहयोग

नयाँ विश्व डटकमको प्रकाशन संस्था नागरिक सञ्चार प्रालिका कार्यसमिति सदस्य सम्पूर्णनारायण भारी र उनकी पत्नी संगम भारीले मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेका छन् ।

छोरी अनुजा भारीको स्मृतिमा आश्रितहरूको भोजन र भवन निर्माणका लागि भारी परिवारले १८ हजार रुपैयाँबराबरको सहयोग गरेको हो ।
व्यवसाय र समाजसेवामा सक्रिय भारी परिवारले सामाजिक, धार्मिक, स्वास्थ्य र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

भारी दम्पतीसँगै छोराहरू निपूर्णनारायण र अन्नपूर्ण नारायण तथा नाति निकुञ्जनारायणले सहयोग उपलब्ध गराएको आश्रम सञ्चालिका सुमिरा लामाले नयाँ विश्वलाई बताइन् ।

छोरी अनुजाको स्मृतिमा आश्रितहरूको भोजनका लागि ६ हजार र सम्पूर्णनारायणको आगामी कात्तिक ११ गतेको जन्मदिनका अवसरमा भवन निर्माणका लागि १२  हजार उपलब्ध गराइएको हो ।

सहयोग हस्तान्तरण कार्याक्रममा नयाँ विश्व डटकमको प्रकाशन संस्था नागरिक सञ्चार प्रालिका कार्यसमिति सदस्य सम्पूर्णनारायण भारीले छोरीको स्मृतिमा आश्रमलाई सहयोग गरेको र भविष्यमा पनि आश्रमको विकासमा आफूले सहकार्य गर्ने बताए ।

कार्यक्रममा निपूर्णनारायण भारी,समाजसेवी कल्याण वझा,नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी र आश्रमकी सञ्चालिका सुमिरा लामाले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङका युवाको सक्रियतामा सञ्चालित आश्रम सहयोगकै भरमा चल्दै आएको आश्रम सञ्चालका निर्मलबहादुर श्रेष्ठले बताए ।

आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका विपना तामाङले बताइन् । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७० लाखमा बी ब्लकको पहिलो तला ढलान भएको आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए । यसका लागि गण्डकी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

आश्रमको भवन निर्माणका लागि आव २०७८ र ७९ का लागि गण्डकी प्रदेशबाट ५० लाख र नगरपालिकाबाट १० लाख विनियोजन भएको छ ।आश्रमको भवन निर्माणको लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्