८ जेष्ठ २०८१, मंगलवार

 

कालिका भगवती गुठिद्वारा आश्रमको भवन निर्माणका लागि २ लाख ५० हजार सहयोग

बागलुङ जिल्लाको कालिका भगवती गुठि व्यवस्थापन समितिले मानवसेवा आश्रमलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । चर्चित धार्मिक एवं पर्यटकीय स्थल कालिका भगवती मन्दिरलाई यही गुठि व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आइरहेको छ ।

कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले आश्रमकी संचालिका विपना तामाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ ।

तर परिवारको खोजी भइरहेका र पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमले बागलुङ नगरपालिकाको नियरेघाटमा भवननिर्माण गरिरहेको छ ।

त्यहाँ हालसम्म गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक बर्षमा उपलब्ध गराएको ५० लाखले कार्य सुरुवात गरेको छ ।

आश्रमले स्थापनाकै समयदेखि नै बैदेशिक दार्त निकायबाट सर्त सहितको सहयोग स्वीकार नगर्ने दृढ संकल्प लिएको हुनाले नेपाल सरकार र परोपकारी मनहरुको साथ र सहयोगमा निर्माण सम्पन्न गर्ने आश्रमको संयोजक सुमिरा लामाले बताइन् ।

उक्त निर्माणाधीन भवनको अनुमानित लागत ६ करोड रहेको छ ।भवननिर्माण भइसकेपछि त्यहाँ १५० जना सडकमानवलाई सेवा दिन सकिने छ ।

विस २०६९ सालमा मकवानपुर जिल्लाको हेटौंडाबाट सडकआश्रित मानवहरुको सेवा सुरुवात गरेको आश्रमले २०७४ साल चैत्र ४ गतेदेखि बागलुङ जिल्लामा शाखा सञ्चालन गरेको हो ।

हालसम्म बागलुङ सहित आश्रमको सातै प्रदेशको १७ जिल्लाको २३ वटा स्थानमा शाखाहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्