२१ बैशाख २०८१, शुक्रबार

 

आर्थिक पत्रकारिता पुरस्कार नयाँ विश्वकर्मी सुवास आचार्यलाई प्रदान

बागलुङ – नयाँ विश्वकर्मी तथा माउन्टेन टिभी बागलुङको संवाददाता पत्रकार सुवास आचार्य बागलुङ उघोग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको छ ।

शनिबार बागलुङ उघोग वाणिज्य संघको ५८ औं साधारणसभाका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटन,उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले पत्रकार आचार्यलाई कदरपत्र,दोसल्ला र नगद २० हजारले पुरस्कृत गरेको हो ।

बागलुङ उघोग वाणिज्य संघले बागलुङ जिल्लाको व्यापार,उघोग,कृषि,पर्यटनको क्षेत्रमा खोजमुलक समाचार लेखेर व्यवसायीक प्रबद्र्धनमा योगदान दिएका पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेको बागलुङ उघोग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

क्याम्पसको व्यवस्थापन विषयको जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने चलन थियो म अध्यक्ष भएर आएपछि बागलुङको व्यापार,उघोग,कृषि र पर्यटनको क्षेत्रमा खोजमुलक समाचार लेख्ने पत्रकारलाई पुरस्कृत गर्न कोषको स्थापना गरे अध्यक्ष राजभण्डारीले नयाँ विश्वलाई बताए ।बागलुङ उद्योग वाणिज्य संघले बागलुङ महोत्सवबाट जोगाएको रकमबाट २ लाख २२ हजारको आर्थिक खोजमुलक पत्रकारिता पुरस्कार कोष स्थापना गरेको संघका महासचिव नरेश कँडेलले बताए ।

संघले महोत्सवबाट बचाएको ३० लाख रकममध्ये ५ लाख धौलागिरि बहुमुखी क्याम्पसको शैक्षिक सुधारमा, ५ लाख संघको अक्षय कोषमा, ५ लाख व्यवसायीक हितको कोषमा राखेको छ भने ५ लाख सिसि क्यामरा जडानको लागि विनियोजित गरेको छ ।

संघले प्रदान गरेको पुरस्कारले आफू अझै उत्साहित भएको पत्रकार सुवास आचार्यले बताए ।आचार्य विगत १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।बागलुङ उघोग वाणिज्य संघले पहिलो पटक आर्थिक पत्रकारिता पुरस्कार नयाँ विश्वको सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्