१७ बैशाख २०८१, सोमबार

 

रुमि राजभण्डारी जनमत पूर्णमान लुचि समाजसेवाबाट सम्मानित

काठमाडौं । जनमत-पूर्णमान लुचि समाजसेवा सम्मानबाट रुमि राजभण्डारी सम्मानित भएकी छिन् । शनिबार बनेपामा आयोजित समारोहमा जनमत वाङ्मय प्रतिष्ठान नेपालले जनमत साहित्यीक पत्रिकाको ३९ औं वार्षिकोत्सवको उपलक्ष्यमा अस्तित्व नेपालकी संस्थापक रुमि राजभण्डारीलाई सम्मान गरेको हो ।

उनलाई एसिड तथा अग्निजन्य हिंसा पीडित महिलाहरुको पक्षमा महत्वपूर्ण काम गरेको भन्दै सम्मान गरेको जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष मोहन दुवालले नयाँ विश्वलाई बताउनु भयो ।

२०७७ र ०७८ सालमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेको व्यक्तित्वहरुमध्ये राजभण्डारीलाई समाजसेवा तर्फ योगदान गरेकोमा सम्मान गरेको हो ।कार्यक्रमका अथिति साहित्यकार प्रा डा अभि सुवेदीले रुमि राजभण्डारीलाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा १५ जना विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जनमत वाङ्मय प्रतिष्ठान नेपालले दिएको सम्मानले पीडित महिलाहरुको पक्षमा उच्च मनोबलका काम गर्न प्रेरणा मिलेको राजभण्डारीले नयाँ विश्वलाई बताइन् ।

बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा बुबा रघुनाथ राजभण्डारी र आमा रेनु राजभण्डारीकी जेठी छोरीको रुपमा २०४२ सालमा जन्मिएका उनी हाल काठमाडौं बसोबास गर्छिन ।

रुमि राजभण्डारीले २०७४ सालमा अस्तित्व नेपाल नामक सामाजिक संस्था स्थापना गरी पीडित महिलाहरुको पक्षमा पैरवी गर्नुको साथै पीडित महिलाहरु र उनीहरुको परिवारलाई शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम र सचेतना कार्यक्रमहरू दिदै आइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्