५ जेष्ठ २०८१, शनिबार

 

धौलागिरि अस्पतालमा सिटिस्क्यान सेवा सुरु हुँदै

बागलुङ । धौलागिरि अस्पतालमा सिटिस्क्यान सेवा सुरु हुने भएको छ । अस्पतालमा नियमित रुपमा सिटिस्क्यान सेवाको सुरुवात गर्नको लागि रेडियो टेक्नोलोजिस्ट र रेडियो ग्राफर सम्बन्धी विशषज्ञ भर्ना गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रवि रंजन प्रधानले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको विनियोजन बजेटबाट एक जना रेडियो टेक्नोलोजिस्ट र दुई जना रेडियो ग्राफरको विज्ञापन गरेको र भोलि अन्तर्वाताको कार्यक्रम भएको प्रधानले बताउनु भयो । अस्पतालले १२८ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याउनसाथ सिटिस्क्यानका लागि पोखरा, चितवन र काठमाडौं उपत्यकामा जानुपर्ने वाध्यताको अन्त्य हुनेछ ।

अस्पतालमा मेसिन आए पनि कर्मचारी अभावका कारण सिटिस्क्यान सेवा सञ्चालनमा आउन सकेको थिएन । रेडियो टेक्नोलोजिस्ट र रेडियो ग्राफरको नियुक्तिसँगै २४ सै घण्टा सिटिस्क्यान सेवा सुरु हुनेछ ।

विगत धेरै वर्षको पहलपछि मात्र अस्पतालमा सिटिस्क्यान मेसिन आएको धौलागिरि अस्पतालका प्रशासन प्रमुख तेज प्रसाद निउरेले बताउनु भयो । सिटिस्क्यान सेवा सुरु भयो भने यो सेवा लिन टाढा जान नपर्ने मात्र हैन, विरामीले समयमै सेवा पाउने र पैसा र समयको पनि बचत हुने निउरेको भनाई थियो ।

मेसिन नहुँदा बागलुङका र धौलागिरि अंचलकै गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन बाहिर जानुपर्ने अवस्था थियो भने भनेको बेला बाहिर जिल्लाको सरकारी अस्पतालमा पालो नपाउँदा विपन्न वर्गका बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो । यो सेवा सुरु हुने भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ ।

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटिस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्