काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।
साथै भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौंबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।
यसै गरी लुम्बिनी प्रदेशका २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।घाइतेहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना बढी चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।



















































































































































































































