२२ बैशाख २०८१, शनिबार

 

विवाईसीद्वारा मेरुदण्ड भाँचिएकी क्षेत्रीलाई फोल्डिंग बेड सहयोग

बागलुङ । विवाईसी बागलुङद्वारा मेरुदण्ड भाँचिएर थला परेकी काठेखोला गाउँपालिका–२ भीमापोखराकी मन कुमारी क्षेत्रीलाई एक थान सेमी फोल्डिंग बेड सहयोग गरिएको छ । विवाईसी बागलुङद्वारा संचालित ग्रामीण स्वास्थ्य परियोजना (फेरमेड फाउण्डेशन) को आर्थिक तथा प्राविधिक सहयोगमा बेड सहयोग गरेको हो ।

क्षेत्री २२ वर्ष पहिले मेरुदण्ड भाँचिएर थला पर्दै आउनुभएको थियो । घाँसदाउरा गर्ने बेलामा बनमा लडेर केसीको मेरुदण्ड भाँचिएको हो । क्षेत्रीलाई आइतबार काठेखोला गाउँपालिका–२ का वडाअध्यक्ष विद्यापति शर्मा, विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतम, कार्यसमिति सदस्य खिम बहादुर कार्कीले बेड हस्तान्तरण गर्नुभएको हो ।

विवाईसी बागलुङका अध्यक्ष गौतमले क्षेत्रीलाई बेडको समस्या रहेको थाहा पाएपछि फेरमेडको सहयोगमा सेमी फोल्डिंग बेड हस्तान्तरण गरिएको बताउनुभयो । क्षेत्रीलाई सुत्नको लागि सहज होस् भनेर २१ हजार ८ सय ६५ रुपैयाँ बराबरको सुविधासम्पन्न बेड सहयोग गरिएको अध्यक्ष गौतमले बताउनुभयो ।

क्षेत्रीले नियमित खानुपर्ने र घाउ सफा गर्न चाहिने बेटारिन लगायतका औषधीजन्य सामाग्रीको अभाव रहेको बताउनुभयो । उहाँले पहिले स्वास्थ्य चौकीदेखि परिवारका आफन्तलाई औषधि दिने गरिएपनि अहिले बिरामी स्वंय अस्पताल आउनुपर्ने बताएकाले औषधिको लागि समस्या भइरहेको बताउनुभयो ।

‘दैनिक खानुपर्ने र घाउँ सफा गर्नको लागि बेटारिन, गजहरुको दैनिक आवश्यकता पर्छ,’ क्षेत्रीले भन्नुभयो,‘म उठ्न पनि सक्दिन । अस्पतालले विरामी स्वंय आउनुपर्ने बताएपछि अहिले औषधि प्रयोगमा समस्या भइरहेको छ ।’

खबरवेबाट

 

प्रतिक्रिया दिनुहोस्