१५ बैशाख २०८१, शनिबार

 

विद्यामन्दिर माध्यमिक विद्यालयको ८३ औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमसहित सम्पन्न

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङको ८३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार धौलागिरि अञ्चलकै सबै भन्दा जेठो विद्यालयको रुपमा १९९७ मा स्थापित विद्यामन्दिर माध्यमिकले सप्ताहव्यापी कार्यक्रम आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।

सामुदायिक विद्यालयको सुधारका लागि धौलागिरि अंचलकै शिक्षा क्षेत्रको इतिहास बोकेको विद्यामन्दिर मावि पूर्वाधारका हिसावले नमूना विद्यालय बनेको बताउँदै अब गुणस्तर र सिकाई उपलब्धी हासिल गर्नको लागि सबैको सहकार्य आवश्यक रहेको वक्ताहरुले बताउनु भयो ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, समाजसेवी श्रवणलाल शाक्य, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ, व्यवसायी अनुप श्रेष्ठ, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख युक्त प्रसाद शर्मा, बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धन प्रसाद पोख्रेल, पूर्वशिक्षक डिल्ली राज गौतम र विद्यार्थी संस्कार गौतमले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षासेवी तथा चन्दादाता पुष्पमान श्रेष्ठको स्मृतिमा श्रीमती लालु श्रेष्ठ, छोरा बुहारी सुनिल श्रेष्ठ, रेश्मा श्रेष्ठ, अनुप श्रेष्ठ र किन्चु भुतिया श्रेष्ठले पाँच लाख पचपन्न हजारको शैक्षिक अक्षय कोष स्थापना गर्न र श्रीमान वुद्ध कुमार शाक्यको स्मृतिमा श्रीमती चमेली शाक्य र छोरा बुहारी सिद्धार्थ शाक्य, जेनिसा बाएनकोबा र विजय शाक्य, राखि क्षेत्रीले शैक्षिक अक्षय कोष निर्माणको लागि पाँच लाखको चेक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबु लाल शाक्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा शिक्षक शंकर थापा, सरिता लामिछाने, जमुना भण्डारी, कृष्ण प्रसाद गौतम, विष्णु प्रसाद शमार्, गोविन्द राना, रविन्द्र शर्मा, लखन थापा, कुलप्रसाद अधिकारी, नवराज गौतम, श्याम प्रसाद शर्मा, रोशन क्षेत्री, अस्मिता खड्का, कर्मचारीमा टुकु शर्मा, खगिशरा थापालाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितात्मक विज्ञान प्रदर्शनीमा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल प्रथम, आदर्श विद्यामन्दिर मावि द्धितीय र कालिगण्डकी आवासिय मावि तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, मेडल र प्रमाणपत्र, द्धितीय हुनेलाई १० हजार मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई ८ हजार, मेडेल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक छवि रमण रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक भिम प्रसाद गौतमले गर्नु भएको थियो ।

मूल समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।मूल समारोह पूर्व विद्यार्थीहरुको र्यालीले बागलुङ बजारको विभिन्न चोकहरुको परिक्रममा गरेको थियो ।

विसं १९९७ सालमा ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले स्थापना गरेको यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म १३ सय ८० जना विद्यार्थी अध्यापन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्