बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बडीगाड गाउँपालिकाका पहिरापीडितहरुको लागि संकलन गरेको सहयोग रकम नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवन्द्र पौडेललाई हस्तान्तरण गरिएको छ ।
शनिबार नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले पचास हजार रुपैयाँ बागलुङ क्षेत्र नं २ का सांसद पौडेलको नेतृत्वमा पहिरोपीडितहरुलाई वितरण गर्ने गरी हस्तान्तरण गर्नु भएको हो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले श्रीकृष्ण मेडिको कन्र्सनले उपलब्ध गराएको पाँच हजार बराबरको खानेपानी शुद्धिकरण गर्ने औषधी पनि सांसद पौडेललाई हस्तान्तरण गर्नु भएको छ ।
बडीगाड गाउँपालिका – ९ बलघाँसका र वडा १० आरुपाटाका पहिरोपीडितहरुको लागि राहत उपलब्ध गराउने पवित्र उद्देश्य राखेर सहयोग रकम संकलन गर्नु भएकोमा धन्यवाद दिन चाहान्छु नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवन्द्र पौडेलले बताउनु भयो । यो सहयोग रकम प्रभावित क्षेत्रमा गएर पीडित परिवारहरुलाई हस्तान्तरण गरिने उहाँले भन्नु भयो ।
पीडितहरुलाई सानो भए पनि सहयोग होस भनि बागलुङ बजारका व्यवसायीहरुबाट सहयोग संकलन गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले बताउनु भयोे ।
कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, महिला उद्यमी संयोजक ललिता थापाको स्वागत र महासचिव गोकुल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
व्यापार संगठनले पहिरोपीडितहरुको लागि साउन २५ गतेदेखि २९ गतेसम्म बागलुङ बजारका उद्योगी व्यवसायीहरुबाट ५० हजार रुपैयाँ सहयोग संकलन गरिएको थियो ।
गत २२ गते रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् ।
पहिरोले चार घर पूर्ण रुपमा नष्ट भएको र ६२ परिवार प्रभावित भएको छ ।अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।




























































































































































































































