बागलुङ । बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणाका लागि प्रमुख अथितिको रुपमा आउनु भएका नेपाल सरकारका उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बागलुङ नगरपालिकामा स्वागत गरिएको छ ।
माघ ९ गते बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा घोषणा कार्यक्रमको पूर्व सन्ध्यामा सिंह बागलुङ आउनुभएको हो ।
सिंहलाई बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ,उपप्रमुख राजु खड्का, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वडा अध्यक्ष ज्ञानेन्द्र गौतमलगाएतकाले नगरपालिकामा स्वागत गर्नुभएको छ ।
नगरको सबै वडाहरु बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणापछि नगरपालिकाले नगर घोषणालाई प्राथमिकता दिएर अगाडि बढाएको हो ।
घोषणा कार्यक्रम उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको आतिथ्यतामा उत्सवको रुपमा मनाउन चौध वटा वडाको जनप्रतिनिधि, संघसंस्था, विद्यालयका बालबालिका, शिक्षक, कर्मचारी, अभिभावक, व्यवस्थापन समितिका सदस्य, स्वास्थ्यकर्मी, किसान, उद्योगी, व्यवसायी, खेलाडि, कलाकार, धार्मिक संघसंस्थालाई सक्रिय बनाइएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले नगरपालिकाको समग्र विकासको विषयमा स्वागत पश्चात सिंहलाई जानकारी गराउनुभएको थियो ।






















































































































































































































