बागलुङ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले ‘ह्युमन पापिलोमा भाइरस’ एचपिभी खोप माघ २२ गतेदेखि लगाइने भएको छ ।
माघ २२ गते (फेब्रुअरी ४) मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी खोप) लगाउन लागिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभी खोप लगाउने कार्यक्रम रहेको खनालले जानकारी दिनु भयो ।
नगर स्वास्थ्य शाखाले माघ २२ गतेदेखि सबै वडामा ४६ वटा खोप केन्द्र स्थापना गरी दुई हजार पाँच सय ६५ जना विद्यालयका र विद्यालय बाहिरका किशोरीहरुलाई खोप प्रदान गर्ने कार्यक्रम सुरु गर्न लागेको छ ।
स्वास्थ्य शाखाले सबै किशोरीहरुलाई यस अभियानमा जोड्न, पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन नगरको चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वंय सेविका, जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरुको सहकार्यमा खोप अभियान सुरु गर्न लागेको हो ।
गत शनिबार खोप दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो ।
खोप कार्यक्रमबाट अब्बल नतिजा ल्याउन र एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी स्वास्थ्य शाखाले तयारी सुरु गरेको छ ।
त्यसको लागि नगरको चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई तालिमको पनि व्यवस्था गरेको छ । नगरको सबै किशोरीहरुलाई खोपको दायरामा ल्याउनको लागि थप १५ हजार खोप चाहिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० देखि ३,००० महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ।
महिलाहरूमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी खोप ल्याएको हो ।



















































































































































































































