३ श्रावण २०८३, आईतवार

 

बाल पुस्तकालय सञ्चालनार्थ श्रेष्ठ परिवारद्वारा २५ हजार सहयोग

बागलुङ । विद्यामन्दिर पुस्तकालयमा सञ्चालनमा आएको बाल पुस्तकालयको लागि व्यवसायी ताराप्रसाद श्रेष्ठ, श्रीमती सुन्दरी श्रेष्ठ र छोरा अमन श्रेष्ठले रु २५ हजारको अक्षय कोष स्थापना गर्नु भएको छ ।

बागलुङ नगरपालिका-२ धौलागिरि चोक निवासी ओम गणपति ज्वेलर्सका सञ्चालक दम्पत्तिले आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा अक्षय कोष स्थापना गर्नु भएको हो ।

बालबालिकालाई पुस्तक र पुस्तकालय तर्फ अभिरुचि जगाउने अभियानमा आफूले पनि सानो अक्षय कोष स्थापना गरेको र कोषमा विस्तारै रकम वृद्धि गर्दै लैजाने श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।

उक्त रकम विहीबार आमाको ३२औँ पुण्यतिथि पारेर सुन्दरी श्रेष्ठ र अमन श्रेष्ठले पुस्तकालयका अध्यक्ष राम थापा अविरललाई हस्तान्तरण गर्नुभएको हो ।

अक्षयकोषको ब्याज रकम बाल पुस्तकालयको श्रीवृद्धि र बालबालिकाको क्षेत्रमा खर्च गरिनेछ ।

साथै व्यवसायी गोपाल कँडेल र सुदिप कँडेलले बाल पुस्तकालयको सहयोगार्थ रु तीन हजार उपलब्ध गराउनु भएको छ ।

पुस्तकालय भवनको छुट्टै कक्षमा बाल पुस्तकालय  सञ्चालनमा  आएको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय सञ्चालनका लागि सहयोग अभियान पनि सुरु गरेको छ ।उक्त अभियानअन्तर्गत हालसम्म चार अक्षयकोषसहित रु पाँच लाख सङ्कलन भएको छ ।

बाल पुस्तकालय सञ्चालनका लागि जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्नेक्रम जारी रहेको पुस्तकालयका सचिव राजन प्रसाद सापकोटाले बताउनुभयो ।बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन संस्कृतिको विकास र बौद्धिक जागरण ल्याउने ध्येयले बाल पुस्तकालय सञ्चालन गर्न लागिएको हो ।

सुन्दरी श्रेष्ठले बागलुङ समाज कल्याण केन्द्र बागलुङको संस्थागत विकासको लागि केन्द्रकी कोषाध्यक्ष मनकामना श्रेष्ठलाई पाँच हजार सहयोग पनि हस्तान्तरण गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung