बागलुङ । पहिरो खसेर अबरुद्ध कालीगण्डकी करिडोर बागलुङ खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्ड स्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
अबरुद्ध सडक खुलाउन आइतबार दिनभर दुईवटा स्काभेटर प्रयोग गरेपनि पहिरो ठूलो भएकाले अहिले सम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
उक्त खण्डमा यातयता ठप्प हुँदा यात्रुहरुलाई समस्या भएको छ । ठूला–ठूला चट्टान सहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भईरहेको छ । कालीगण्डकी करिडोर आयोजनासंग समन्वय गरेर सोमबार बिहानै देखि पहिरो पन्चाउने काम पुन थालिएको छ ।













































































































































































































