बागलुङ । मानववादी व्यक्तित्व दिल शोभा श्रेष्ठलाई वंश–रत्न मेमोरियल ट्रष्टले सम्मानित गर्ने भएको छ।
कुरीति, कुसंस्कार, अन्धविश्वास र सबै खाले विभेदका विरुद्ध एवं मानववादको पक्षमा काम गर्ने विभिन्न क्षेत्रका एक जना व्यक्तित्व अथवा संस्थालाई एक लाख नगद सहित सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम अनुसार भदौ ३० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ सभा कक्षमा दिउँसो २ बजे विशेष समारोहका साथ सम्मान गर्न लागिएको ट्रस्टकी अध्यक्ष सन्त कुमारी श्रेष्ठ (सन्तु श्रेष्ठ) ले नयाँ विश्वलाई जानकारी दिनुभयो ।
मानवसेवी श्रेष्ठले विगत तीन दशकदेखि सडकमा बेसहारा भएका, अलपत्र परेका, रोगी र गरिब महिलाहरुलाई पालन पोषण गर्दै आएकी छिन् ।कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा हुन लागेको हो ।
स्रष्टा, अनुवादक एवं मानववादी बालकृष्ण श्रेष्ठ ‘नेभा’ले आफ्नो मातापिताको नाममा स्थापना गरेको संस्था वंश–रत्न मेमोरियल ट्रष्टले ‘मानववादी काम गर्ने र अभियान चलाउने व्यक्तित्वहरूको प्रोत्साहन तथा सम्मानको लागि स्मृति कोष गठन गरिएको’ बताउनु भयो ।
संस्थाले हरेक दुई वर्षमा एकपटक मानवतावादी व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।













































































































































































































