बागलुङ । मानवसेवा आश्रम बागलुङको नवनिर्मित भवन निर्माणको लागि छोरी अनुजा भारीको स्मृतिमा धौलागिरि बचत तथा ऋण सहकारीका उपाध्यक्ष, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका कार्यसमिति सदस्य समाजसेवी सम्पूर्ण नारायण भारी र श्रीमती संगम भारी, छोरा निपूर्ण नारायण भारी, बुहारी कस्तुरी भारी र छोरा अन्नपूर्ण भारीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ ।
बागलुङ नगरपालिका-३ नारायणचोक जन्म घर भई हाल काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बसोबास गर्नु हुने भारी दम्पत्तीले मानवसेवा आश्रम श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीलाई प्रदान गर्नु भएको हो ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु हुन लागेको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेको सम्पूर्ण नारायण भारीले बताउनुभयो ।
भवन निर्माणका लागि आयोजना हुने महायज्ञ सुरु नहुँदै उत्साहजनक रुपमा आर्थिक सहयोग जुट्न शुरु भएको छ । अहिलेसम्म स्थानीय पालिका, संघसंस्था, जनप्रतिनिधि, समाजसेवी, शिक्षासेवी, विद्यार्थी, उद्योगी, व्यवसायी, भूपुसैनिक, शिक्षक, कर्मचारी र जनसमुदायबाट सोमबारसम्म रु एक करोड संकलन भएको महायज्ञका सचिव युक्त प्रसाद सुवेदीले नयाँविश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो ।
। महायज्ञमा कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नुहुनेछ ।

















































































































































































