बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि व्यवसायी अमृत कँडेल र श्रीमती सीता देवी दाहाल कँडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।
बागलुङ नगरपालिका ३ निवासी कँडेल प्लाष्टिक पसलका सञ्चालक कँडेलले शनिबार उक्त रकम प्रदान गर्नु भएको हो ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको कँडेलले नयाँ विश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।
महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।
















































































































































































