बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका ३ किनारा टोल जन्म घर भई हाल बेलायत निवासी राजन कुमार प्रधान श्रीमती सुलोचन प्रधानले रु १ लाख ११ हजार १ सय ११ सहयोग प्रदान गरेका छन् ।
आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शुक्रबार आर्थिक सहयोग हस्तान्तरण गरेको नेपाल परिवार नियोजन संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।
बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि सुरु भएको महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका अध्यक्ष सहदेव राजभण्डारीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

















































































































































































