१४ असार २०८३, आईतवार

 

बागलुङमा १३१ ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद अस्पतालद्वारा औषधिसमेत वितरण

बागलुङ। बागलुङ नगरपालिका–३ स्थित पुरानो बसपार्कमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, लायन्स क्लब अफ आवाज र महिला हित बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा तथा धौलागिरि आयुर्वेद अस्पताल बागलुङको प्राविधिक सहयोगमा आयोजित शिविरमा १३१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका थिए।

“ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान, परिवारको सम्मान” भन्ने मूल नारासहित सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षणसँगै मधुमेह (सुगर) परीक्षण पनि गरिएको थियो।

शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श दिएका थिए।

परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको धौलागिरि आयुर्वेद अस्पतालका वैद्य निरीक्षक एकराज ढुंगानाले जानकारी दिनुभयो।

सामुदायिक सेवा केन्द्रकी अध्यक्ष लिला देवी खड्काका अनुसार ज्येष्ठ नागरिकहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने र नियमित स्वास्थ्य परीक्षणमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

शिविरबाट ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचार र परामर्श प्राप्त गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कुँवरले स्थानीय ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताउँदै यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने आवश्यकता औँल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung