बागलुङ । बागलुङमा जेठयता तीन जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गी सङ्क्रमण देखिएको अस्पतालका डा. सन्दीप सापकोटाले जानकारी दिनुभयो।
सङ्क्रमण पुष्टि भएका तीनै जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले बताउनुभयो।
अस्पतालका अनुसार डेङ्गीका लक्षण भएका बिरामी अस्पतालमा निरन्तर आइरहेका छन् भने उच्च ज्वरोका बिरामीको सङ्ख्या पनि पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ।
धौलागिरि प्रादेशिक अस्पतालका अनुसार अहिले दैनिक ओपिडी तथा इमर्जेन्सीमा आउने अधिकांश बिरामी मौसमी ज्वरो र डेङ्गीसँग मिल्दोजुल्दो लक्षण भएका छन्। हप्तामा दुई दिन सार्वजनिक बिदा परेकाले इमर्जेन्सी सेवामा बिरामीको चाप अझ बढेको अस्पतालले जनाएको छ।
स्वास्थ्यकर्मीका अनुसार डेङ्गी भाइरसबाट हुने रोग हो। यसको प्रमुख लक्षणमा एक्कासी उच्च ज्वरो आउने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी तथा हड्डी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र छालामा डाबर वा बिमिरा देखिनु पर्दछन्। केही बिरामीमा घाँटी दुख्ने, आँखा रातो हुने, खान मन नलाग्ने तथा पेट दुख्ने समस्या पनि देखिन सक्छ।
मौसमी उच्च ज्वरो र डेङ्गीसँग मिल्दोजुल्दो लक्षण भएका र रोग जटिल बन्दै गएमा नाक वा गिजाबाट रगत बग्न सक्ने भएकाले लक्षण देखिएमा बेवास्ता नगरी तुरुन्तै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा.किरण तिवारीले आग्रह गरेका छन्।
डेङ्गीका लक्षण अन्य भाइरल वा मौसमी ज्वरोसँग मिल्ने भएकाले समयमै परीक्षण र उपचार गराउनु नै सुरक्षित उपाय भएको चिकित्सकको भनाइ छ।













































































































































































































