२१ बैशाख २०८१, शुक्रबार

 

जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी बनाइदिने’ उत्तर कोरियाको चेतावनी

 एक उत्तर कोरियाली सरकारी एजेन्सीले आणविक हतियार प्रयोग गरेर जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी बनाई अन्धकारमय बनाइदिने’ चेतावनी दिएको छ ।

आफ्नो पछिल्लो आणविक परिक्षणको प्रतिक्रियास्वरुप संयुक्त राष्ट्र सुरक्षा परिषदले लगाएको प्रतिबन्धहरुलाई समर्थन गरेको कारण उत्तर कोरियाले जापान र अमेरिकालाई यस्तो आरोप लगाएको जनाइएको छ ।

उत्तर कोरियाको वैदेशिक मामिला तथा प्रचारप्रसार सम्हाल्ने प्योङ्ग्याङको कोरिया एसिया–प्रशान्त शान्ति समितिले सुरक्षा परिषदको खारेजीको पनि माग गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई उत्तर कोरियाले अमेरिकाद्वारा परिचालित ‘घुस्याहा’ राष्ट्रहरुको समूहको रुपमा व्याख्या गर्दै आएको छ ।

‘आणविक बमले जापानका चार टापुहरुलाई प्रशान्त महासागरमा डुबाउनुपर्छ । जापान अब हामीनजिक अस्तित्वमा रहनु हुँदैन,’ समितिले एक विज्ञप्तिमा जनाएको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले बताएको छ ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले आफ्नो छैठौँ र अहिलेसम्म सबैभन्दा ठूलो आणविक परिक्षण गरेपछि दुई कोरियाली राष्ट्रहरुबीच तनाव बढेको छ ।

उत्तर कोरियाको आणविक परिक्षणको प्रतिक्रियाको रुपमा संयुक्त राष्ट्र संघको १५ सदस्यीय सुरक्षा परिषदले सोमबार उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको थियो । उसले कोइला र खनिजपछि उत्तर कोरियाको सबैभन्दा ठूलो उद्योग कपडाको निर्यातमा रोक लगाउनुका साथै इन्धन आपूर्तिमा पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको प्रतिक्रिया स्वरुप चीन र रुसको समर्थन पाएको उत्तर कोरियाले अमेरिका, जापान र दक्षिण कोरिया विरुद्ध यस्तो चेतावनी दिएको हो ।

साभार : ईमुल्याङ्कन

प्रतिक्रिया दिनुहोस्