पुरूष सहकर्मीको तुलनामा असमान तलब पाएको भन्दै बीबीसीकी चीन सम्पादक क्यारी ग्रेसीले पदबाट राजीनामा दिएकी छन्।
बीबीसीमा ३० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएकी ग्रेसीले एउटा खुलापत्रमा उक्त संस्थामा “गोप्य र गैरकानूनी रूपमा तलब दिने संस्कार रहेको” बताएकी छन्।
वार्षिक १ लाख ५० हजार पाउण्डभन्दा बढी तलब पाउने चर्चित कर्मचारीहरू पुरूष रहेको खुलासा भएपछि उनले बीबीसीले “विश्वासको संकट” झेलिरहेको बताएकी हुन्।
तर बीबीसीले “महिलाविरूद्ध नीतिगत विभेद नरहेको” जनाएको छ।
प्रतिरोध
ग्रेसीले बीबीसीको बेइजिङ ब्यूरोको सम्पादकको पद गत हप्ता त्यागे पनि आफू बीबीसीसँगै रहने बताइन्।
उनले भनेकी छन्, म टीभी न्यूजरूममा पहिल्यैको पदमा फर्किनेछु “जहाँ म आशा गर्छु मैले समान तलब पाउनेछु।”
म्यानड्रिन भाषा फरर बोल्ने चीन मामिला विज्ञ ग्रेसीको बजफीड न्यूजले प्रकाशित गरेको खुलापत्रमा लेखिएको छ, “बीबीसी, लाइसेन्स शुल्क तिर्ने तपाईँहरूको हो।”
“मलाई लाग्छ उसले समानतासम्बन्धी कानून तोडिरहेको र निष्पक्ष तथा पारदर्शी भुक्तानीसम्बन्धी संरचनाका लागि दिइएको दबाबको प्रतिरोध गरिरहेको छ भन्ने कुरा थाहा पाउनु तपाईँहरूको अधिकार हो।”
तस्वीर कपीराइट@BBCCARRIEगत जुलाईमा वार्षिक डेढ लाख पाउण्डभन्दा बढी कमाउने सबै कर्मचारीको तलब सार्वजनिक गर्न बीबीसी बाध्य भएको थियो।
ग्रेसीले बीबीसीका दुईजना अन्तर्राष्ट्रिय पुरूष सम्पादकले आफ्ना महिला समकक्षीले भन्दा “कम्तीमा ५० प्रतिशत बढी” तलब पाउने गरेको थाहा पाएपछि आफू निरूत्साहित बनेको बताएकी छन्।
खुलासा
बीबीसीका अमेरिका सम्पादक जोन सोपेलले २,४९,९९९ पाउण्ड र मध्यपूर्व सम्पादक जेरेमी बोवेनले १,९९,९९९ पाउण्ड पाउने गरेको खुलासा भएको थियो।
ग्रेसी त्यो सूचीमा परेकी थिइनन्, जसको अर्थ उनको तलब डेढ लाख पाउण्डभन्दा कम छ।
खुलापत्रमा उनले लेखेकी छन्, “समानतासम्बन्धी ऐन २०१० ले समान कामका लागि महिला र पुरूषले समान तलब पाउनुपर्ने उल्लेख गरेको छ।”
ग्रेसीले महिला कर्मचारीमा “धैर्य र सद्भाव सकिन लागेको” बताएकी छन्।
बीबीसी मीडीया सम्पादक अमोल राजनले ग्रेसीको राजीनामा सो संस्थाका लागि “ठूलो टाउको दुखाइ” बनेको बताएका छन्।
बीबीसी नेपाली सेवाबाट













































































































































































































