२३ भाद्र २०८३, मंगलवार

 

आमा विष्णुकुमारीले नदेखेका थानेश्वर

आमा !
मध्यरातमा थानेश्वर गौतम ब्युँझिए । ब्युँझिदा त्यहाँ आमा होइन, उनकी श्रीमती थिइन् । गहिरो निद्रामा थिए, छोरा थानेश्वर । निद्रामा देखिएकी आमा, त्यो अन्धकारमा कहाँबाट भेटियून् । थानेश्वर जुरुक्क उठे र ट्युबलाइटको स्विच अन गरे । अनि, कापी कलम लिएर आमालाई उतार्न थाले, शब्दमा ।
डाँडा पारि छ्यौ कि कसो हो, आमा
सपनीमा मात्रै देखिन्छ्यौ
झस्किएर ब्युँझिन्छु आमा
तिमी देखिन्नौ नि कता–कता छेकिन्छ्यौ । यिनै शब्दका लागि केही दिनमै म्युजिक तयार गरे र रेकर्ड गरे, आफ्नै स्वरमा । स्टुडियोमा रोएरै गाए, जुन गीत सुनेर थुप्रैको आँखाका डिल भत्किए, सायद ।

थानेश्वरको मन भत्किन त आमा शब्द नै काफी छ । ‘आमा शब्द यति गह्रुंगो छ, कुनै भौतिक वस्तुसँग तुलना गर्नै सकिँदैन,’ मसँगको बसाइको अन्तरंगमा थानेश्वरको मुखबाट फुत्किएको पहिलो वाक्य यही हो । आमाको ढाडस नपाएको भए उनी गायक हुन्थे/हुन्थेनन्, आफैँ अनभिज्ञ छन्।

‘बिर्सिएर शृंगारमा पाउजु नलाएको’ गाएर उनी गायनमा दह्रिए । कहिले ‘स्याङ्जा गएँ, पाल्पा गएँ, बटौलीमा गइनँ’ भन्दै स्टुडियोदेखि गाउँसहर र विदेशसम्म गुन्जिए, उनी । सांगीतिक क्षेत्रमा थानेश्वरको १५ वर्षे करिअरको यो सफलताको पृष्ठभूमिमा आमा अर्थात् विष्णुकुमारी गौतमको मार्मिक कथा छ । त्यसैले त भन्छन्, ‘आमाको धड्कन ममाथि अडिएको थियो ।’ तर, समयले यस्तो मोड लियो, थानेश्वर र आमाको साथ छुट्यो, विपनीमा कहिल्यै नभेटिने गरेर ।

०००
सबै मानिसले जीवनमा सुन्दर फूल फुलाएका हुन्छन् । इच्छा, चाहनाका फूल । फूल त्यतिवेला फक्रिन्छ, जब कोपिला छँदा उचित संरक्षण र मलजल पाउँछ । थानेश्वरको जीवनले संगीतको फूल फुलाउन राम्रो मलजल पायो ।

सानो छँदा उनको हातमा कहिलै रेडियो टुट्दैनथ्यो । घाँस काट्न पनि रेडियो बोकेरै जान्थे, मेलापात पनि रेडियोसँगै गर्थे । थानेश्वर ती दिन सम्झिएर रोमाञ्चित बन्छन्, ‘घाँस काट्दा खुट्टा र रेडियो एकैपटक सार्थें । हिन्दी, आधुनिक, लोकदोहोरी सबै प्रकारका गीत सुन्थेँ । कहिलेकाहीँ गीत सुन्दासुन्दै घाँस काट्नै बिर्सिन्थेँ ।’ घाँस काट्न मात्र होइन, रेडियोमा बज्ने धुनले उनका धेरै काम बिर्साइदिन्थ्यो, सबै स्मरण गर्न सम्भव छैन ।

थानेश्वरले गीत सुनेर मात्र मन शान्त पार्दैनथे । रेडियोमा बजेको नयाँ गीत कण्ठस्थ नपारेसम्म उनको चित्त बुझ्दैनथ्यो । गाउँ, जिल्लातिर कतै मेला महोत्सव भयो कि गीत गाउन मरिहत्ते गर्थे । त्यो फुच्चे थानेश्वरले संगीतभन्दा पर आफ्नो जीवन देखेको थिएन, ५० को दशकमा ।

छोरो थानेश्वरको यस्तो आचरण आमा विष्णुकुमारीका लागि अनौठो विषय थियो । उनको पारा देखेर आमाले पटक–पटक भन्थिन्, ‘यस्तो हालतले जीवनमा के गरेर खाला ?’ थानेश्वर फ्याट्ट जवाफ दिन्थे, ‘गायक बन्छु आमा, ठूलो गायक ।’ आमाले ओठ लेप्य्राउँथिन् । छोराको कामलाई लिएर उनको विरोध थिएन यो, केवल चिन्ता थियो ।

थानेश्वर गौतम परिवारका एक मात्र सन्तान थिए । बा–आमाको माया र चिन्ता पनि एकत्रित थियो । तर, उनी आफ्नी आमालाई नै संसार देख्थे । किनभने, वेलाबखत थानेश्वरले गाएका गीत आमाले ध्यान दिएर सुनिदिन्थिन् ।

आमालाई सम्झिँदै नोस्टाल्जिक बन्छन्, ‘म ८ वर्षको हुँदो हुँ, आमा थला पर्नुभयो । हिँड्न पनि सक्नुभएन । गाउँलेले डोकोमा राखेर भारततर्फ लैजान थाले, सदरमुकामसम्म यसरी बोकेर पुर्‍याउनुपथ्र्यो । म पनि रुदैँ उहाँको पछि–पछि लागेँ । कसैले भनेको मानिनँ । किनभने म जीवनमा कहिल्यै आमाबाट अलग बसेको थिइनँ । त्यतिवेला आमाको आँखा पनि आँसुले भरिएको थियो,’ आमासँगको सम्झना एक–एक गर्दै सम्झिन्छन्, ‘त्यसपछि बिरामी हुने पालो भयो मेरो । म अचानक रूखबाट लडेँ । त्यतिवेला आमाले भनेको एउटा कुरा कहिल्यै पनि बिर्सिन्नँ, ‘छोरा नभए त म कसरी बाँच्ने ?’

संगीतले यस्तो मन बनाइदिन्छ कि अरूको दुःखमा पनि दुख्ने र खुसीमा हाँस्न सक्ने । म जे–जे सिक्थेँ, आमालाई सुनाउँथेँ । उहाँले कहिल्यै कुनै गुनासो गर्नुभएन । बरु सधैँ ढाडस दिइरहनुभयो । दुनियाँले त के–के भन्थे, सम्झिँदा अहिले पनि मन अमिलो हुन्छ ।

आमासँगै खेल्दै, गीत गाउँदै बित्यो, थानेश्वरको बाल्यकाल । तीनवटा स्कुल परिवर्तनपछि एसएलसी पनि उत्तीर्ण गरे । एसएलसीपछि उनको एउटै ध्येय थियो, काठमाडौं आउने र संगीत पढेर गायक बन्ने । निकै थोरैमा मात्र चेत हुन्छ, संगीत पढेर गायक बन्ने, त्यो चेत त्यतिवेलै थानेश्वरको मनमा थियो । अब काठमाडौं आउने पनि भए । घरमा यसैगरी प्रस्ताव राखेँ, ‘म काठमाडौं गएर संगीत पढ्छु, गायक बन्नेछु । तर, त्यतिवेला आमाले भनेकी थिइन्, हामी गायक बन्न सकिँदैन छोरा !

तर, उहाँको मनको कुनै कुनामा मप्रतिको विश्वास भने लुकेको अनुभूति गरेको थिएँ ।’ त्यहीवेला गाउँकै एकजनासँग बडो फुर्तीका साथ थानेश्वरले खोकेका थिए, ‘म त गायक बन्न काठमाडौं जाँदै छु ।’ ती गाउँलेले हाकाहाकी भनिदिए, ‘कस्ता–कस्ता काँ गए, मुसाको छाउरो दरबार ।’ थानेश्वर भन्छन्, ‘मलाई निकै रिस उठ्यो र चुनौती दिँदै भने, ‘हेर नेपालको सबैभन्दा ठूलो गायक बनेर देखाउँछु ।’ त्यो घटना सम्झिँदा अहिले पनि हाँसो उठेर आउँछ ।’

थानेश्वर काठमाडौं आए र फुपूकोमा बस्न थाले । भन्छन्, ‘म पहिलोपटक काठमाडौं छिरेको थिएँ । त्यसैले मेरा लागि यो नयाँ संसार थियो । संगीत पढ्न भन्दै ललितकला क्याम्पस पुगेँ । मलाई क्लासिकल गीत गाउन लगाइयो । तर, विडम्बना ! सारेगम भन्ने कुन चराको नाम हो भनेजस्तो लाग्थ्यो । मैले लोकदोहोरी गीत गाएँ । त्यति धेरैको भिडमा मेरो त पहिलो लिस्टमै नाम निस्किएछ । त्यसपछि सुरु भयो, मेरो औपचारिक संगीत संघर्ष ।’

०००
‘भिनाजु नरहरि प्रेमीले स्टुडियो देखाइदिनुभयो । मान्छेहरू चिनाइदिनुभयो । त्यही क्रममा रेडियो नेपाल पनि पुगेको थिएँ । प्रसंग ०५७ सालतिरको हो । रेडियो नेपालमा गीत प्रतियोगिता थियो । त्यहाँ नारायण रायमाझीलाई पनि देखेँ । गायनमा उहाँ मलाई प्रिय लाग्थ्यो । त्यतिवेला जसलाई भेट्यो उसैलाई गीत सुनाइहाल्थेँ, उहाँलाई पनि सुनाएँ । उहाँले पनि मेरो स्वर मन पराउनुभयो र प्रतिस्पर्धामा भाग लिन प्रोत्साहन गर्नुभयो । त्यतिवेलै रेडियो नेपालको एउटा कुनामा गएर गीत लेखेँ :
लिंगे बाँसैले, उठिवास बनायो तिम्रै आशैले अनि, प्रतिस्पर्धामा गाएँ । म त रेडियो नेपालको स्वर परीक्षामा पनि पास भएछु । त्यो नै मेरा लागि सबैभन्दा ठूलो खुसी थियो, त्यतिवेला ।

दिनहरू बित्दै थिए । मेरो संगीत सिकाइको दौरानले गति लिँदै थियो । दीपक जंगम गुरुसँग संगीत सिक्थेँ । संगीत भनेको एउटा संस्कार पनि रहेछ । संगीतले यस्तो मन बनाइदिन्छ कि अरूको दुःखमा पनि दुख्ने र खुसीमा पनि हाँस्न सक्ने । ‘मैले जे–जे सिक्थेँ, आमालाई सुनाउँथेँ । उहाँले कहिल्यै कुनै गुनासो गर्नुभएन । बरु सधैँ ढाडस दिइरहनुभयो । दुनियाँले त के–के भन्थे, सम्झिँदा अहिले पनि मन अमिलो हुन्छ । तर, मलाई त्यसले त्यति धेरै छुन्थेन । किनभने, माया र सहयोग गर्ने आमा हुनुहुन्थ्यो । अरू किन चाहियो ?’ आमाको साथको बयान गरे ।
‘काठमाडौं आएको तीन वर्षमा रमेश अधिकारीको गीत गाएँ । बोल थियो :
सोधौँ कसलाई
कि त भगवान्लाई
कि त मनलाई
यो गीतको क्यासेट बोकेर म सीधै घरतिर हान्निएको थिएँ । घर पुग्दा साँझ परिसकेको थियो । अनि क्यासेट प्लेयरमा राखेर आमालाई सुनाएँ । सबै परिवार सँगै बसेर सुन्यौँ । धेरै पछिसम्म आमाले त्यही मात्र गीत सुन्नुहुन्थ्यो । सायद उहाँलाई लाग्थ्यो होला, संसारमा अहिलेसम्म एउटै गीत रेकर्ड भएको छ र त्यो मेरै छोराको हो ।’

त्यसको केही समयपछि ‘नाकमा फुली ए मेरी ठूली’ बोलको सालैजो, ‘बाटो बन्द भो’लगायत गीत गाएका थानेश्वरलाई संगीतमा पछाडि फर्किनुपरेन ।

०००
०६८ को त्यो दिन उनको जीवनमा ठूलै चोट पर्‍यो । फोनबाट सुनाइएको खबरले उनी विक्षिप्त भए । किनभने, उनलाई संगीतमा सधैँ बल भर्ने आमा रूखबाट लडेर गम्भीर घाइते भएको खबर थियो । ‘आमा रूखबाट लडेर गम्भीर हुनुहुन्छ, झट्टै आउनुपर्‍यो ।’ उनीहरूको भनाइबाट मलाई शंका लाग्यो कि आमा रहनुभएन । मेरो मस्तिष्क क्षणभरमा खाली भयो,’ थानेश्वरले त्यो क्षण स्मरण गरे ।

त्यही राति उनी घरतर्फ हिँडे, अनेक कल्पनामा डुब्दै । तर, घरको यात्रा नजिकिँदै गर्दा उनलाई घाटतिर डोहोर्‍याइयो । आमालाई अन्तिम दाहसंस्कारका लागि घाटमा पुर्‍याइसकिएको थियो । ‘घाटमा पुग्दा म आँसुले निथ्रुक्कै भइसकेको थिएँ । मैले स्टेजमा गीत गाउँदा त्यसरी नै दर्शक जम्मा हुन्थे । त्यो मेरो जीवनको पहिलो अनुभव थियो कि मेरो आँसु हेर्नका लागि दर्शक जम्मा भएका थिए,’ थानेश्वरले त्यो पीडा सम्झिए ।

आमाले छाडेर गएसँगै केही अवधि उनलाई सम्हालिन गाह्रो भयो । किनभने, आमा मात्रै होइन, उनलाई संसार अस्ताएझैँ लाग्यो । उनको सांगीतिक जीवनको सबैभन्दा भरपर्दो टेको ढल्नु चानचुने शोक थिएन । आमाको मृत्युले त उनको ‘ट्र्याक’ नै परिवर्तन हुने अवस्था निम्तियो । योजनाहरू लथालिंग छाडिदिए । ‘मेरा सबै योजनाहरू कोमामा गएका थिए । केही समयपछि अध्यात्मतिर लागेँ, संसार बुझेँ । चित्त बुझाउनु नै पर्दो रहेछ,’ उनी फर्ममा फर्किए ।

०००
आमाले छाडेर गएको ६ महिनापछि आमालाई सम्झेर गीत रेकर्ड गराए :
मलाई जन्म दिने
मेरी महान् आमा
६ महिनापछि मेरो अर्को जीवन सुरु भयो, आमाविनाको जीवन । उहाँको आशीर्वादलाई सँगै लिएर गीत गाउन, सिक्न थालेँ । त्यसपछि गजल रेकर्ड गराएँ, ‘बिर्सिएर शृंगारमा गाजल लगाइनछौ ।’ यो गजलले यति धेरै चर्चा पायो कि मेरो सांगीतिक जीवनको ‘टर्निङ प्वाइन्ट’ नै बनिदियो । गजल सुनेर थुप्रै संगीतकर्मीले नेपाली गजलमा फरक आयामसम्म भने । अनि, ‘मा¥यो नि माया’ले पनि उत्तिकै चल्यो ।

त्यसपछि ‘रामप्यारी’ फिल्ममा गाएँ, ‘छम छम ती पाउजुहरू लगाएर नाच’, ‘घुम्टोमुनि कौलेनी साइँली’, ‘पञ्चैबाजामा सालैजो’, ‘छ मसँग सबै छ’, ‘छैन तिमै्र अभाव छ’, ‘चोलियाको तुना’, ‘सिन्दूर लाउने हौली माया चुरा लाउने हौली’लगायत एक दर्जन गीत/गजल गाएँ । मैले गाएका प्रत्येक गीतलाई श्रोता–दर्शकले अत्यधिक रुचाइदिनुभयो । त्यसैले युरोपका प्रत्येक देश, लन्डन, जापानलगायतका ठाउँमा पुगेर कार्यक्रम गर्न पाएँ । अहिले पनि व्यस्त नै छु । तर, म जहाँ जान्छु, मेरी आमालाई सम्झन्छु । उहाँकै अभाव खड्किन्छ । यदि मैले अर्को जुनी पाएँ भने मलाई मेरै आमा चाहिन्छ । आमाविना मेरो यो करिअर सम्भव थिएन । आजको मेरो सफलता आमाले देख्न पाउनुभएन । त्यसैले त मैले आमालाई सम्झिएर रुँदै गाएको छु :
दसैँ पनि आएझैँ लाग्दैन आमा
चाडबाड पनि लाग्दैन
गाउँघर पनि शून्यझैँ लाउँछ आमा
मनमा कतै खुसी जाग्दैन

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung