गएराति गएको पहिरोले जैमिनी नगरपालिका–१० राङखानी स्थित जनता माविका चार कक्षा कोठा क्षतिग्रस्त बनेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रस्ट’ भवनको एक कोठा पहिरोमा पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्ण रुपमा क्षति पुगेको प्रअ शंकर थापाले बताउनुभयो ।
पहिरोबाट करिब रु. ५० लाख बराबरको भौतिक क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरि कक्षा कोठा नै पुरिएपछि विद्यालयले दुई दिन स्थानीय विदा राखेको छ । ‘प्रहरी मुचुल्का र क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम भएको छ’ प्रअ थापाले भन्नुभयो, ‘विद्यालयलाई ठूलो क्षति पुग्यो ।’ उहाँले पठनपाठन सञ्चालनको लागि वैकल्पिक व्यवस्था गरिने बताउनुभयो ।
क्षति पुगेका कक्षा कोठामा कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको थियो ।
दुई कोठे ‘ट्रस्ट’ भवनमा रहेको स्रोत केन्द्रको कार्यालय पनि पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । शनिबार दिनभरको वर्षापछि राति साढे १० बजे गएको पहिरोले विद्यालय पुरेको स्थानीय एवम् सोही विद्यालयका शिक्षक नविनप्रताप जिसीले बताउनुभयो । विद्यालयमाथिको पाखो धस्सिएर पहिरो खसेको उहाँको भनाइ छ ।
पहिरोले विद्यालय भवनसँगै स्थानीय प्रेमबहादुर थापाको गोठमा पनि क्षति पु¥याएको छ । पहिरोबाटै पशुचौपायाको जिवितै उद्धार गरिएको जनाइएको छ । मनसुन सक्रिय भएसँगै शुरु भएको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पु¥याएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीका भीमबहादुर श्रीसको परिवार पहिरोका कारण विस्थापित हुने अवस्थामा छ । वर्षाले कतिपय ग्रामिण सडक अवरुद्ध बनेका छन् ।रासस


















































































































































































































