२ जेष्ठ २०८१, बुधबार

 

बानपा ८ सिगानामा चिया खेती शुरु

बागलुङ नगरपालिका ८ सिगानमा व्यवसायीक चिया खेती शुरु गरिएको छ । भर्खर मात्र बागलुङ जिल्लामा भित्रिएको चिया व्यवसाय सिगानाले अवलम्बन गरेको छ । बागलुङ नगरपालिकालाई कृषिबाटै सम्वृद्ध बनाउने लक्ष्यका साथ बानपा ८ सिगानाले सिगाना वडाको तल्लो भागमा सुन्तला तथा माथिल्लो भागमा चिया खेती विस्तार गर्न थालिरहेको छ ।

बागलुङ नगरपालिकाको ढुवानीमा शत प्रतिशत तथा विरुवामा ५० प्रतिशत अनुदानमा चिया खेती विस्तार गर्न थालिएको हो । हाल सिगानाको बौडैचौर साइडको १२ रोपनी क्षेत्रफलमा ९ हजार ४ सय चियाका विरुवा लगाइएको छ । अहिले पाइलट प्रोजेक्टको रुपमा लगाईएको यो चिया खेतीलाई व्यवस्थीत रुपमा विस्तार गरी आगामी वर्ष एक लाख चियाका विरुवा लगाउने लक्ष्य लिएको बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजन जि.सी.ले बताए ।

केहि समय अगाडि लुम्ले कृषि अनुसन्धान केन्द्रका प्राविधिकहरुको टोलिले बागलुङ नगरपालिकाकोे ११ सय देखि १४ सय मिटर सम्मको भागमा सुन्तला तथा १६ सय ५० देखि २२ सय मिटरको उचाईमा चिया खेती लगाउन सुझाव दिएपछि काम थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक जीवन आचार्यले बताए ।

कृषकले लगाएको चिया तथा सुन्तलाको विरुवाले चार वर्ष पछि उत्पादन दिन थाल्ने हुनाले उत्पादन नदिदा कृषकले गुमाउनु परेको खेतीपातीको उब्जानी मुल्याङकन गरी ५० प्रतिशत रकम नगरपालिकाले उपलब्ध गराउने तथा ५० प्रतिशत कृषकले वेहोर्ने गरी काम थालिएको बागलुङ नगरपालिकाले बताएको छ । अर्को वर्ष देखि नगरपालिकाले अन्य वडाहरुमा पनि चिया खेती विस्तार गर्ने उदेश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्