पर्वत । पर्वतमा फोहोरको वर्गिकरण गरी संकलन गर्न थालिएको छ । कुश्मा नगरपालिकाले कुहिने र नकुहिने फोहोरहरुलाई वर्गिकरण गरी संकलन गर्न शुरू गरेकाे छ । फोहोर संकलन गर्दा वर्गिकरण नगरी गर्दा फोहोरलाई व्यवस्थापन गर्न असहज हुने देखिएपछि नगरपालिकाले फोहोर वर्गिकरण गरी संकलन गर्न थालेको हो ।
कुहिने फोहोर र नकुहिने फोहोरको विभाजन गरी संकलन गर्दा त्यसको व्यवस्थापनमा पनि सहज हुने गरेको नगरपालिकाले जनाएको छ । कुश्मा बजारको फोहोर व्यवस्थापनको जिम्मेवारी सफा कुश्मा अभियानले लिएको छ । नगरपालिकाले मुख्य गरी कुश्मा बजारभित्रको फोहोर व्यवस्थापन गर्नको लागि हरेक वडामा फोहोर संकलनको लागि प्रति घरपरिवार कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने पोलिथिन व्याग समेत वितरण गरेको छ ।
बागलुङमा भने फोहोर व्यवस्थापनका बारेमा विवाद भएकाे छ । मालढुंगामा फोहोर व्यवस्थान गर्ने काम भएपनि फोहोर संकलन गर्न कुन संस्थालाई दिने भन्ने विषयमा नगरपालिका आफै दोधारमा परेको छ । जिल्लामा रहेको फोहोर मैला व्यवस्थापन तथा वातवरण संरक्षण सहकारीलाई जिम्मा दिएको भएपनि नगरपालिकाले उक्त निर्णय उल्टाउन खोजेको भन्दै विरोध भएको थियो । उक्त संस्थासँग ०७८ सम्मको लागि सम्झौता भएको दाबी छ । बागलुङमा फोहोरको वर्गिकरण गरी संकलन गर्ने अभ्यास हुन सकेकाे छैन ।



















































































































































































































