बागलुङ । गलकोट नगरपालिकाकी उप्रमुख रेनुका काउँचा मगरले समाजमा महिलाहरुलाई दोस्रो दर्जामा हेरेकोले यो सृष्टीको नभई हेर्ने दृष्टीकोणको कमजोरी रहेको बताएकी छन् ।
महिला जागरण केन्द्र गलकोट नगरपालिका–७ मल्मको सामुदायिक भवनको उदघाटन गर्दै नगर उपप्रमुख काउँचाले यस्तो बताएकी हुन् ।
पछिल्लो समयमा महिला दिदीबहिनीको सामाजिक क्षेत्रमा सक्रियता देखिएकाले अब सिपसॅग जोडिदै आर्थिक समृद्विमा लाग्नुपर्ने नगर उप्रमुख काउचाको सुझाव छ ।
गलकोट नगरपालिका नगरबासी महिलाहरुका समस्या समाधान गर्न सदैव आफू तयार रहेको बताइन् । सो अवसरमा गलकोट नगरपालिका –७ का वडा सदस्य लोकबहादुर थापा, महिला सदस्य लक्ष्मी सार्की, नेपाली कांग्रेसका वडा सभापति चिरञ्जीवी, राष्ट्रिय जनमोर्चाका वडा कमिटी अध्यक्ष दलबहादुर थापा, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा ‘सन्देश’ र समाजसेवी राजकुमार दर्जीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महिला जागरण केन्द्रका गतिविधीलाई पत्रकारिता मार्फत विशिष्ट योगदान पुराएको भन्दै पत्रकार थम्मन थापा सन्देश लगायत एकल महिला हरिकला गौतम, श्यामकली दर्जी, ज्येष्ठ महिला पुर्णकली केसी, चित्र कुमारी दर्जी, जग्गादाता तेज थापा र कालीका थापा, पूर्व गाविस सचिव बुद्व बहादुर बस्नेत लगायतलाई सम्मान गरिएको थियो ।
भवन निर्माण भएपछि गलकोट नगरपालिका– ७ मल्ममा विभिन्न तालिम, गोष्ठी, सभा, बैठक लगायतका विभिन्न कार्यक्रम गर्न सहजता हुने भएको छ । सिर्जनशलि महिला जागरण समूहको सकृयता र तत्कालिन मल्म गाविसको अनुदान, स्थानियबासीको आर्थिक सहयोगमा तल्लो सिरबारेमा उक्त सामुदायिक भवन निर्माण भएको हो। सामुदायिक भवन उदघाटन समारोहमा संस्थाका कोषाध्यक्ष मीरा खडकाले नगद ६ लाख ५३ हजार ५ सय १६ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी हुन । महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्म र सिर्जनशिल महिला जागरण समुह आँगाखेतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम केन्द्रका अध्यक्ष ललिता थापाको अध्यक्षता, उपाध्यक्ष थुमकुमारी थापाको स्वागत मन्तव्य र सचिव सरस्वती थापा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































