१४ कार्तिक २०८३, शुक्रबार

 

बडीगाडका सबै योजना जेठ १५ भित्र

काठमाडौं । बडीगाड गाउँपालिकाले जेठ दोस्रो सातासम्म सबै योजना सक्ने गरी कार्यक्रम तय गरेको छ ।

हालै बसेको कार्यपालिका बैठकले जेठ १५ पछिका कुनै पनि योजनाको भुक्तानी सदर नगर्ने निर्णय गरेको हो । गाउँपालिकाका गौरवका योजनाका रूपमा प्रशासनिक भवन, दुईवटा सडक, दुईवटा आकाशे पुलको डिपिआर सम्पन्न गर्ने, गाउँपालिकालाई आवश्यक तीन प्रकारका हेभी इक्विपमेन्ट खरिद गर्नेलगायत निर्णय छन् ।

त्यस्तै गाउँपालिकाबाट प्रस्तावित शिक्षा ऐनमा प्राप्त संशोधनमाथि छलफल गर्दै बैठकले गाउँपालिकाभित्रका विद्यालय मर्जिङ र दरबन्दी मिलानका लागि कार्यसमिति बनाएको छ । सामाजिक विकास शाखाका प्रमुख तथा ३ नम्बर वडाध्यक्ष खड्क पुन संयोजक रहेको समितिमा ७ नम्बर वडाध्यक्ष कृष्ण गुरुङ, १ नम्बर वडाध्यक्ष बोमबहादुर थापा, कार्यपालिका सदस्य मीना रायमाझी सदस्य र शिक्षा अधिकृत कृष्णराज रेग्मी सदस्यसचिव छन् ।

उक्त कार्य सम्पन्न गर्न ढालमणि भण्डारी, सागर खरेल, वेदप्रसाद पोखरेल, केशव खरेल, नेत्र गौतम, कुलबहादुर बुढा, जितबहादुर थापा र शिक्षक महासंघका दुई जना प्रतिनिधि रहेको परिचालन समिति पनि बनाइएको छ । बैठकले शिक्षा समितिले सिफारिस गरेका तीन विद्यालयलाई कक्षा थपको अनुमति दिने निर्णय गरेको छ ।

नीति–कार्यक्रमका लागि अन्तरक्रिया

यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक नीति, कार्यक्रम, बजेट तथा योजना तर्जुमा एवं राजस्व क्षमता बढाउन सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउँपालिका केन्द्र ग्वालीचौरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णुप्रसाद भुसालले गाउँपालिकाले तत्काल तथा दीर्घकालीन रूपमा प्रतिफल आउने दुवैखाले योजना निर्माण र सञ्चालन गर्न सुझाए । स्थानीय सरकारको करका सम्बन्धमा बढी प्रचार भएको भन्दै उनले करको दायरा मात्रै बढेको जिकिर गरे।

कार्यक्रममा गाउँपालिका भित्रका योजनामा राम्रो काम गर्ने रणसिंह महिला भवन निर्माण उपभोक्ता समिति वडिगाड, रणसिंह किटेनीलाई नगद ५० हजार सहित पुरस्कृत गरिएको छ। महिलाहरुले गाउँपालिका बाट विनियोजित २ लाख वजेटवाट आफै जनश्रमदान गरि ७ लाख बराबरको भवन निर्माण गरेका थिए।

त्यस्तै गाउँपालिकाले प्रत्येक टोलमा योजना छनौटको लागी छलफल चलाईने र जेठ २० गते भित्र सबै योजना र सुझाव दिन सम्पुर्ण स्थानियवासीलाई आह्वान गरेको छ। कार्यक्रम बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा शिक्षा अधिकृत कृष्णराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung