बागलुङ। बागलुङ नगरपालिका–१३ पैयुँपाटाले वडा भित्र रहेका विपन्न नागरिकका गोठ सुधारका लागि जस्तापाता वितरण गरेको छ । वडा भित्रका स्थानिय आठ घरपरिवारको गोठ सुधारका लागि जस्ता पाता वितरण गरिएको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।
वडालाई खरको छाना मुक्त बनाउने उद्देश्यले बाख्रापालक किसानका लागि जस्तापाता वितरण गरिएको हो । त्यसै गरी वडा भित्रका ७ वटा आरन संचालक व्यवसायीलाई पनि जस्तापाता वितरण गरिएको छ । आरनमा आगोलागीको जोखिम अन्त्यका लागि र व्यवसायलाई व्यवस्थित बनाउनका जस्तापाता वितरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडाका सम्पुर्ण उपभोक्ताको माझमा जस्तापाताको साथ अन्य सहयोग हस्तान्तरण गरेको छ । वडामा रहेको कृषकहरुका लागि प्लाष्टिक टनेल, महिला आमा समुहका लागि प्लाष्टिकका कुर्सी, कुखुरा पालन व्यवसायीलाई फिडर र डिंकर, माछापालक कृषकलाई पाईप र अभिभावक नभएका विपन्न विद्यार्थीलाई विद्यालय पोशाकको साथमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
वडा कार्यालयको यसै आर्थिक वर्षको कार्यक्रम अन्तरगत व्यवसायीक तरकारी खेती गर्ने कृषकका लागि प्लाष्टिक टनेल, १७ जना कुखुरा पालक कृषकलाई फिडर र डिंकर वितरण तिन जना माछापालक कृषकका लागि आवश्यक प्लाष्टिककको पाईप वितरण गरेको हो । त्यसै गरी वडा भित्रका ३१ वटा महिला समुहलाई आवश्यक प्लाष्टिकका कुर्सी वितरण गरिएको छ । जसमध्ये ७१ भन्दा माथिका घरधुरीलाई १५ वटा ५१ देखी ७० सम्मका लागि १२ वटा ३१ देखी ५० लाई १० र ३० भन्दा तलको घरधुरीका लागि ८ वटा कुर्सी वितरण गरिएको छ ।
त्यसैगरी वडा भित्रका अभिभावक नभएका ४० जना विद्यार्थीलाई विद्यालय पोशाक र आवश्यक शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष पौडेलले बताए । कार्यालयबाट प्लाष्टिक कुर्सीको लागि १ लाख रुपैयाँ, बाख्रा, कुखुरापालनका लागि १ लाख रुपैयाँ, माछापालनका लागि एक लाख रुपैयाँ, आरन सुधारका लागि ५० हजार र विद्यार्थीलाई पोशाक शैक्षिक सामाग्रीका लागि एक लाख रुपैयाँ गरी कुल ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।
वडाले विपन्नका लागि थप कार्यक्रम पनि अगाडी सार्ने अध्यक्ष पौडेलले बताए । कार्यक्रममा वडा भित्रका राजनैतिकदल, विद्यार्थी, र उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।



















































































































































































































