बुटवल । प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस भएको छ ।
प्रदेशसभाअन्तर्गत नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समितिमातहतको उपसमितिले यस्तो सिफारिससहितको प्रतिवेदन मूल समितिलाई बुझाएको छ ।
उपसमितिको शनिबारको बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलित सुझावका आधारमा प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदनलाई अब बस्ने मूल समितिको बैठकले अन्तिम रूप दिनेछ ।
विशेष समिति सदस्य विष्णु पन्थीका अनुसार उपसमितिका ज्येष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्रकुमार पुनमगरलाई हस्तान्तरण गरेका छन् जसमा प्रदेशको नाम निर्विवाद रूपमा लुम्बिनी सिफारिस गरिएको छ ।
संकलनका क्रममा आएका सुझावअनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायत नाम पनि सूचीमा राखिएका थिए । तर बैठकले लुम्बिनीमै सहमति जनाएको हो । स्थायी राजधानीमा भने अझै सहमति जुट्न बाँकी छ । उपसमितिले चर्चामा रहेका रूपन्देही, दाङ, कपिलवस्तु र बाँकेलाई सूचीमा राखेको छ ।
सुझावका लागि तयार पारिएका प्रश्नपत्रमा लेखिएका उत्तरका आधारमा उपसमितिले सिफारिस गरेको हो ।



















































































































































































































