काठमाडौं । विभिन्न अवसर पारेर भोलि आईतबार र पर्सी सोमबार ललितपुरका केही स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेका छन् ।
भोलि आईतबार महालक्ष्मी नगरपालिकामा बिदा दिइएको छ भने सोमबार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले बैशाख २९ गते आईतबार सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको गत बैशाख २३ गते बसेको कार्यपालिकाको बैठकले आईतबार बिदा दिने निर्णय गरेको थियो ।
नगरपालिकाले एक सूचना प्रकाशित गरी महालक्ष्मी मन्दिरको नामाकरणबाट नगरपालिकाको नामाकरण गरिएको र जात्रासँग स्थानीय जनताको भावना जोडिएको र सांस्कृतिक पर्व भएकोले भव्यताका साथ मनाउने परम्परा रही आएकाले नगरपालिकाका क्षेत्रभित्रका सम्पूर्ण कार्यालय, विद्यालय, संघ, संस्था आदिमा हरेक वर्षमा १ पटक अक्षय तृतीया पश्चातको अष्टमीमा (सरकारी पूजा गरिने दिन) सार्वजनिक बिदा दिने निर्णय गरेकोले २०७६ सालको हकमा बैशाख २९ गते आइतबार अष्टमीका दिन सार्वजनिक बिदा हुने सूचनामा उल्लेख गरिएको छ ।
सोमबार ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका वांमय शताब्दीले पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन बिदा दिने निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



















































































































































































































