
पर्वत । अच्चम लाग्न सक्छ ! पशु र वडा दकार्यालय एउटै स्थानमा राखिएकाे छ । भवन अभावले पर्वतको फलेवास नगरपालिकामा वडामा पशु र वडाकाे कार्यालय एउटै ठाउँमा राख्नुपर्ने बाध्यता भएको हाे ।
नगरपालिका–५ खानीगाउँको कार्यालयमा पशु सेवा शाखाको कार्यालय र वडा कार्यालय एउटै ठाउँमा संचालन भईरहेको छ । मानव र पशु सेवा कार्यालय एउटै ठाउँमा हुँदा निकै समस्या भएको छ । मानिसहरुको आउजाउले कार्यालय भिड हुनेहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको छ ।
सार्वजनिक जग्गाको अभाव तथा पुर्वाधार व्यवस्थापनमा सकस हुँदा ५ नम्वर वडा कार्यालयमा पशु सेवा शाखा संचालन गरिएको हो । स्थानीय सरकार संचालनको दुई वर्ष बित्न लागिसक्दा पनि कार्यालयको लागि उपयुक्त भवन नभएकोे तथा खर्च व्यवस्थापनमा समस्या देखिएका कारण वडा कार्यालयै पशुसेवा शाखा बनाइएको वडाध्यक्ष दिपक शर्मा पौडेलले बताए ।
खानीगाउँका पशुपालक किसानलाई मध्ये नजर गदै वडा कार्यालयमै पशु सेवा शाखाको कार्यालय राखिएको अध्यक्ष पौडेलले बताए । पशु सेवा कार्यालयमा खटिने कर्मचारी पनि वडा कार्यालयको कर्मचारी भएकाले एउटै ठाउँमा कार्यालय राखिएको उनको तर्क छ ।
खानीगाउँमा अधिकाँश पशुपालक किसान भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयमै दुईवटा कार्यालय संचालन गरिएको अध्यक्ष पौडेलले बताए । कार्यालय एउटै ठाउँमा भएपनि कोठा पराकिलो भएकाले खासै समस्या नभएको उनको भनाई छ ।
यता पशु सेवा शाखाको कार्यालयका प्राविधिक कविन्द्र गौडेलले एउटै कोठामा कार्यालय हुँदा समस्या भएको बताए । पशु सेवा कार्यालयवाट परामर्श सेवा, गोवर जाँच र निशुल्क औषधी वितरण गरिदै आएको छ ।