काठमाडौं । लोकसेवा आयोगले निकट केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३ सय ४६ जना कर्मचारीका लागि विज्ञापन गर्ने तयारीमा जुटेको जानकारी हुन आएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उक्त जानकारी गराएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएपछि माग गरिएको विवरणका आधारमा लोक सेवा आयोग मार्फत विज्ञापन गर्ने भएको हो ।
त्यसका लागि गृहकार्य थालिएको जानकारी हुन आएको छ । यसअघि मन्त्रालयले ७ सय ५३ स्थानिय तहलाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेको थियो । त्यसमध्ये ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका छन् ।
आयोगका अनुसार ८० प्रतिशतभन्दा बढी खरिदार, नायब सुब्बा ‘प्राविधिक र प्रशासनिक’ का लागि विज्ञापन गरिने छ । त्यसपछि क्रमशः अधिकृत र अन्य स्तरका कर्मचारी भर्नाका लागि विज्ञापन खोलिनेछ। यसअघि मन्त्रालयले गत चैत्र १४ गते संघ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३१ कर्मचारीको समायोजन गरेको थियो।
स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो। सोअनुसार अझै १६ हजार १ सय १८ कर्मचारी अपुग देखिन्छ। अहिलेको समायोजनअनुसार केन्द्रमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ४३ हजार ८ सय ७ कर्मचारी छन्। सरकारले संघमा ४८ हजार ४ सय ९, प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत गरेको थियो।
संविधानमा प्रदेश लोकसेवामार्फत प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रावधान रहे पनि प्रदेश लोकसेवा आयोग नबनेको अवस्थामा छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्न भर्ना प्रक्रिया थालिएको मन्त्री लालबाबु पण्डितले जानकारी गराएका छन् ।



















































































































































































































