१३ कार्तिक २०८३, बिहीबार

 

बागलुङ बजारमा पार्किङ व्यवस्थापन शुरू

बागलुङ । सडकमा हुने ट्राफिक जाम हटाएर दुर्घटना न्युनिकरण गर्न बागलुङ नगरभित्र  पार्किङकाे व्यवस्था शुरू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्ययोजना अनुसार बागलुङ नगरपालिका, जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी र बागलुङ उद्योग वाणिज्य संघ समेतले यो अभियान चलाएका हुन् ।

अबदेखि बागलुङ बजारका मुख्य सडकमा बाटाे नै जाम हुने गरी दोहोरो पार्किङ गर्न नपाइने भएको छ । ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकका अनुसार हरेक आइतबार, सोमबार र मंगलबार बायाँ तर्फ र बुधबार, बिहिबार र शुक्रबार सडकको दायाँ किनारामा पार्किङ गर्नु पर्नेछ । फुटपाथ नभएकोले यस्ताे व्यवस्था गर्नुपरेको विकले बताए ।

दोहोरो पार्किङ र साँघुरो सडकका कारण ट्राफिक व्यवस्थापन फितलो भएको टिप्पणी भईरहेको थियो । बुधबारदेखि मोटरसाइकल व्यवस्थापनका लागि थालिएको काम सबै सवारीमा लागू गर्न विकल्पको खोजी भईरहेको नगरप्रमुख जनकराज पौडेलले बताए । व्यवस्थापकीय कमीले सदरमुकामका गल्लीमा समेत घण्टौ सवारी जाम हुदाँ पैदल यात्रीले समेत सास्ती खेपेका थिए । पहिलो चरणमा नो-पार्किङका बोर्ड तयार पारेर बजारमा राख्न थालिएको छ ।

ट्राफिक व्यवस्थापन अर्न्तगत नगरपालिकाले बजेट बिनियोजन गरेर चोक फराकिलो बनाउने काम थालिसकेको छ । ६ महिना अघि कार्ययोजना बनाएर नगरपालिकामा पेश भएको उक्त कार्ययोजना अनुसार सुधारको काम थालिएको हो ।

नगरपालिका अन्तर्गत पूर्वाधार विकास समितिको बैठकले कार्यदल गठन गरेर ट्राफिक सुधारका लागि अधिकार समेत पत्यायोजन गरेको अध्यक्ष ध्रुवबहादुर केसीले बताए । कार्यदलमा वडा सदस्य अर्जुन घिमिरे संयोजक छन् । त्यसको सदस्यहरुमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष र महासचिव, वडा नं. १ का सदस्य सूर्य लामिछाने समेत रहेकोले कार्यान्वयन प्रकृया सहज हुने केसीले बताए ।

बागलुङको मुख्य बजारमा हार्डवयर र होलसेल पसलका सामान झार्न सडकमै ठूला सवारी पार्किङ गर्ने प्रवृत्ति छ । दुइ पाङग्रे सवारी पनि जथाभावी राखिन्थ्यो । ‘दुईतर्फ ट्रक पार्किङ गर्दा पैदल यात्रीपनि हिँड्न नसक्ने, गुडेका सवारी पनि दुर्घटनामा पर्ने खतरा बढ्यो’ विकले भने, ‘सवारी छन् भनेर लापरबाही गर्न भएन ।’ छेउका नाली समेत च्यापेर उनीहरुले सवारी रोक्ने गरेको उनले बताए । दुरसंचार चोक देखि ट्राफिक चोक, पुरानो सिनेमा रोड, हरिशंकर रोड, लोकतान्त्रिक चोक जस्ता स्थानमा ठूला ट्रकले घण्टौं रोक्दा आवागमनमा समस्या परेको प्रहरीको निष्कर्ष छ ।

ठूला सवारीले सिमेन्ट, रड, खाद्यान्न लगायतका सामाग्री लोडअनलोडका लागि घण्टौं बाटो अवरुद्ध गर्दै आएका छन् । अस्पतालका लागि आएका एम्बुलेन्सले बाटो नपाएर घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएपछि ट्राफिकले कार्ययोजना बनाएर नगरपालिकामा बुझाएको थियो । १० बुदैं सुधार योजनाका लागि नगरपालिकाले तत्कालका लागि ३ लाख रुपैँया विनियोजन गरेपछि आवश्यक सामाग्री खरिद गरिएको हो । ट्राफिकले जेब्रा क्रस, कन्भेक्स लेन्स राख्ने र निजी विद्यालयका बस रोक्न स्थान तोक्ने काम समेत गर्नेछ ।

कार्यदलले समितिको कार्यादेश लिएर ती स्थान तोक्नेछ । कार्ययोजना अनुसार दर्जनबढी चोकमा जेब्रा क्रस राख्नुपर्नेछ । विद्यालय, अस्पताल र क्याम्पसमा हर्न निषेध गर्ने योजना समेत छ । आफ्नै प्रहरी समेत राखेपनि नगरपालिकाले फुटपाथ व्यवस्थापन र अवरोध हटाउने काम गरेको थिएन ।

केही समय अघि फुटपाथका सामान हटाउने तयारी गर्दा व्यवसायीले अवरोध गरेका थिए । उक्त कार्यदलकै अगुवाईमा बजारमा सिसि क्यामेरा राख्ने सहितका कार्यक्रम बनाईएको हो । उक्त योजना पूर्ण रुपमा कार्यान्वयन गर्दा बजार व्यवस्थित हुने केसीले बताए । नगरपालिकाले चालु वर्षभित्रै केही चोक सुधार गर्न बजेट विनियोजन गरेर निर्माण र मर्मतको काम गरिरहेको छ । सुधार कार्यक्रममा फराकिलो बनाउने, विद्युतका पोल हटाउने र कल्भर्ट निर्माणको काम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung