काठमाडौं । नेपाल भाषा मंका खलः, बागलुङले बागलुङ नगरपालिका–३ हाडेपाखास्थित सामुदायिक भवनलाई सुविधासम्पन्न क्रियापुत्री भवनका रूपमा विकास गर्ने भएको छ ।
यसका लागि संस्थाले पूर्वाधार निर्माण अघि बढाएको छ ।
‘हामी ५ लाखको लागतमा सुविधासम्पन्न क्रियापुत्री भवन बनाउँदै छौं,’ संस्थाका कोषाध्यक्ष विदेशकुमार श्रेष्ठले भने ।
किरिया बस्नेहरूलाई सहज होस् भनेर ढुंगेधारा, फराकिलो बाटो, रेलिङ, ढुंगाको सिँढी, ट्रस, चौतारालगायत निर्माण भइरहेको संस्थाका सचिव सुदीप राजभण्डारीले बताए ।
यी पूर्वाधार बनाउन दशरथ श्रेष्ठ, जयरथ श्रेष्ठ, रघुनाथ राजभण्डारी, सुवासचन्द्र राजभण्डारी, अनुप श्रेष्ठ, निर्माणकुमार श्रेष्ठ, वसन्तकुमार श्रेष्ठ, मुकेश राजभण्डारी, विदेशकुमार श्रेष्ठ, सुदीप राजभण्डारी, राजेश भारी, श्रीमती आशा भारीले सघाउँदै छन् । भवनभित्रै शौचालयसमेत व्यवस्था गरिएको छ ।
उक्त सामुदायिक भवनलाई सुविधासम्पन्न क्रियापुत्री भवन बनाउन नेवाः समुदायको युवा पुस्ता लाग्नुपर्ने नेपाल भाषा मंका खलः, बागलुङका सल्लाहकार वसन्तकुमार श्रेष्ठले बताए ।
खलःका पूर्वअध्यक्ष परशुराम श्रेष्ठको नेतृत्वमा बनाइएको भवनलाई मंका खलःले संरक्षण र विकास गर्दै आएको छ ।
भवनमा पूर्वाधार बनेपछि किरिया बस्न, कुलपूजा र अन्य कार्यक्रम गर्न धेरै सहज हुने खलःका सल्लाहकार देवबहादुर श्रेष्ठले बताए ।
‘हामीले नेवा समुदाय, वडा र बागलुङ नगरपालिकासँगको सहकार्यमा निर्माण कार्य अगाडि बढाएका छौं । आगामी साउन महिनाभित्र सम्पन्न गरिसक्छौं,’ खलःका अध्यक्ष मुकेश राजभण्डारीले भने ।





















































































































































































































