सेवाग्राहीसँग घुस लिएको स-प्रमाण पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका एक वडाध्यक्षविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको सुरूंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिल्टु मियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मियाँले मोहीयानी जग्गा छुटाउन सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई रु. २५ हजार घुससहित नियन्त्रणमा लिएको थियो।
मियाँले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बद्नियतपूर्वक मोहियानी जग्गा र रकमको बार्गेनिङ गरी नियमानुसार गर्नुपर्ने काममा उनले घुस लिएको अख्तियारको दाबी छ ।
अख्तियारले वडाध्यक्ष मियाँविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।



















































































































































































































