तमानखोला गांउँपालिकाको वडा नं. ६ नर्जागाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा विनियोजित बजेट तथा योजनाको कार्यसम्पादनपश्चात हालसम्म भएगरेका कार्यप्रगतिको विषयमा स्थानीय जनताको गुनासो, सुझाव, सल्लाह समेट्दै अगाडी बढ्ने र जनप्रतिनिधीलाई जनताप्रति उत्तरदायी बनाउने उद्येश्यस्वरूप गाउँपालिकाले सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे हाे ।
यससँगै आर्थिक वर्ष २०७६/७७ का लागि योजना छनौट कार्यक्रम पनि सुरू गरिएको छ । तमानखोला गाउँपालिकाको आयोजना, सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्ज र रेडियो परिवर्तनको सहजीकरणमा कार्यक्रम सुरू भएकाे थियो ।
जसअनुसार सोमबार वडा नं. ६ मा वडा अध्यक्ष कुलबहादुर छन्त्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रममा वडावासीले वडामा भएगरेका काम कारवाहीका विषयमा आफ्ना भनाई राखेका थिए । उनीहरुले आगामी दिनमा समेत जनताको आवश्यकतालाई मध्यनजर राख्दै वडा कार्यालय र गाउँपालिका अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा वडाबासी बुद्धिराम विक, चित्र छन्त्याल, दलबहादुर विक, खिम विक, रमेश कुमार छन्त्याल, मनु विक लगाएतले आफनो धारणा लिखित एवम मौखिक रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष छन्त्यालले चालु आर्थिक वर्षमा आफनो वडामा ९५ लाख वजेट विनियोजन भई १५ योजना रहेकोमा अधिकांस योजना सम्पादन भईसकेको जानकारी गराए । उनले विद्यालय भवन, सडक निर्माणका काम अन्तिम चरणमा पुगिसकेको बताउँदै जनताको साथ र सहयोगका कारण आफुहरूलाई विकास निर्माणमा सहजता भईरहेको बताए ।
उक्त कार्यक्रममा बोल्दै तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले विकास निर्माण देखि हरेक कार्यसम्पादनमा जनताको चासो, गुनासो, एंव सुझाव प्राप्त भएमात्र जनप्रतिनिधी अगाडी बढ्ने बताउँदै समाज रुपान्तरणमा जनताको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रमका अवसरमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद गौतमले आर्थिक वर्ष २०७५/ ७६ मा भएका कार्ययोजना र प्रगतिका विषयमा प्रकाश पारेका थिए ।




















































































































































































































