सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ स्थित छेस्काम गाउँ । तस्बिर : अन्नपूर्ण
सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’।
विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न आएको सूचनापछि त्यहाँ कार्यरत प्रहरी सुरक्षित स्थानमा भागेको, विप्लवका कार्यकर्ताले चौकी पाँच घन्टा नियन्त्रणमा लिएको जस्ता समाचार आइरहे। घटनाको पुष्टि न प्रहरीले गर्यो न स्थानीयले।
सनसनीपूर्ण खबरपछि गृह मन्त्रालयमा सुरक्षा निकायका तीनवटै प्रमुखसहित मन्त्रीको बैठक बस्यो। बैठकले त्यस क्षेत्रमा सुरक्षा निकाय सचेततापूर्वक परिचालन गर्ने निर्णय गर्यो।
स्थानीय बासिन्दाका अनुसार त्यहाँ न विप्लवका नेताकार्यकर्ताले धावा बोलेका थिए, न कब्जा गर्ने उद्देश्यले नै पुगेका थिए। त्यहाँ विप्लवका नेताकार्यकर्ता भने देखिएका थिए। गाउँपालिकाका अध्यक्ष सागर किरातीले चौकीमा आक्रमणबारे आफूलाई जानकारी नभएको टेलिफोनमार्फत बताए।
छेस्काम र आसपासका क्षेत्रलाई लक्षित गर्दै संयुक्त रूपमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘लङ पेट्रोलिङ’ टोली परिचालन गरिसकिएको सुरक्षा स्रोतले जनाएको छ। टोलीलाई सबै ठाउँमा खानतलासी गर्ने, संग्दिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने लगायतका अधिकार दिइएको छ। थप मद्दतका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत १ नम्बर सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० गरेर ८० जना प्रहरीको विशेष टोली सोलुखुम्बु पुर्याइएको छ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र मगरले बाहिर हल्ला आएजस्तो केही नभएको दाबी गरे। उनले विप्लवको गतिविधि बढेकाले सुरक्षा परिचालन गरिएको जानकारी दिए।
विप्लवका प्रवक्ता खडकबहादुर विश्वकर्माले सोलखुम्बुमा पार्टीद्वारा प्रहरी चौकी आक्रमण भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारको खण्डन गरेको छन्। उनले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टी नीति नभएको र त्यस प्रकारको घटना नभएको पनि वक्तव्यमार्फत प्रस्ट पारेका छन्।
( आजको अन्नपुर्ण दैनिकबाट )



















































































































































































































